गोदावरी–३ मा हाते कढाई तालिम सम्पन्न : महिलाहरू स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख

चैत ३० धनगढी
कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको पूर्वसन्ध्यामा स्थानीय महिलाहरूलाई लक्षित गर्दै ४५ दिने हाते कढाई (बुटिक) तालिम सम्पन्न गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजना (RUDP) अन्तर्गत सञ्चालन भएको उक्त तालिममा प्रभावित क्षेत्रका १५ जना महिलाहरूले सहभागिता जनाएका थिए।

४५ दिन (१८० घण्टा) सम्म सञ्चालन भएको यस तालिमको औपचारिक समापन गर्दै सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। समापन कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहभागीहरूमाझ प्रमाणपत्र वितरण गर्दै भने, “फोहर व्यवस्थापन मात्र हाम्रो लक्ष्य होइन, प्रभावित समुदायलाई आत्मनिर्भर बनाउने प्रयास पनि हाम्रो प्राथमिकता हो।”

नगर प्रमुख भट्टले तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर जीवनशैलीतर्फ अग्रसर गराउने विश्वास व्यक्त गर्दै यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले थपे, “यहाँ सिकिएको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन नगरपालिका सदैव सहकार्य गर्न तत्पर रहनेछ।”

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थीको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि नगर प्रमुख भट्टसहित RUDP आयोजना व्यवस्थापक शिखर लामा तामाङ, नगर प्रवक्ता गोपाल दत्त भट्ट, परामर्शदाता इन्जिनियर हरे कृष्ण मण्डल र निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डे अतिथिका रूपमा उपस्थित थिए।

आयोजना व्यवस्थापक तामाङले तालिमले स्थानीयलाई रोजगारी सिर्जना गर्न, फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा वातावरणीय सुधारमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

कार्यक्रम सञ्चालन गरेका केशब राज पन्तले तालिमको प्रभावबारे जानकारी दिँदै सहभागी महिलाहरूले आधुनिक तथा परम्परागत डिजाइनसहित बुटिक कार्यको सीप सिकेको बताए। तालिमले उनीहरूलाई आत्मनिर्भर बनाउने तथा उद्यमशीलताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरे।

निष्कर्षतः, गोदावरी नगरपालिकाको यो प्रयासले केवल फोहर व्यवस्थापन मात्र नभई सामाजिक-आर्थिक सशक्तीकरणको दिशामा पनि महत्वपूर्ण पाइला चालेको स्पष्ट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply