बैशाख २७
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हीरासिंह सार्कीले प्रदेशको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने तयारी भईरहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा डडेल्धुरामा शनिबारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी २ दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन ।
उनले भने ‘सञ्चार विधेयक पास गर्नका लागि पत्रकारहरूसँग छलफल गरिरहेका छौं, अझ महासंघले यसमा छलफल गरि सुझाव दिन आग्रह गर्दछु ।’ मन्त्री भएदेखि नै सञ्चार विधेयक बनाउन लागि परेको उनले बताए ।
‘प्रदेश सरकार गठनको पनि ८ वर्ष भएछ, म पनि आठौं मन्त्री भएको रहेछु तर अहिलेसम्म आम सञ्चार विधेयक नबन्नु दुःखद हो । पत्रकारहरुको व्यवस्थापनका लागि यो ऐन आवश्यक छ’ मन्त्री सार्कीले भने ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले रेडियो एफएमहरु संकटमा परिरहेकाले नयाँ प्रविधि सँगै अघि बढ्नुपर्ने बताए । उनले भने ‘अहिले एफएम रेडियो मात्रै होईन, प्रिन्ट मिडिया पनि संकटमा छन । मिडिया भनेको जनताको आवाज हो । यो जोगाउने जिम्मा सरकारको हो, सरकारले यसमा ध्यान दिनुपर्छ ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा आयोजना गरेको प्रशिक्षणमा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
आर्थिक अवस्था कमजोर भएर संकटमा रहेका रेडियोहरूलाई कसरी जोगाउने भन्ने बारेमा डाक्टर रघु मैनालीले सहजीकरण गरिरहेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिहले स्वागत गरेका थिए भने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शैलेन्द्र रोकाया, युनियन डडेल्धुराका उपाध्यक्ष राम खत्री, प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मी ऐर, प्रेस सेन्टरका जिल्ला अध्यक्ष भीम दाहाल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष टीकाराम साउद सहितका पत्रकारहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर साउदले धन्यवाद ज्ञापन गरेका थिए ।