बैशाख २८ धनगढी
कैलालीको धनगढीस्थित चैतन्य पाठशाला र नेपाल महर्षि वैदिक फाउण्डेसनबीच सचेतनामा आधारित शिक्षाका लागि द्विपक्षीय सम्झौता भएको छ ।
आज पाठशालामा आयोजित एक कार्यक्रमकाबीच फाउण्डेशनका निर्देशक मीनराज अधिकारी र पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस कार्यक्रमले नेपाल महर्षी वैदिक फाउण्डेसनसँग दीर्घकालिन सहकार्य गर्दै द्विपक्षीय पहलमा विद्यार्थीको शैक्षिक यात्रा सार्थक, सृजनशील, अन्तरदृष्टियुक्त र जीवनयोपयोगी हुने अपेक्षा गरिएको पाठशालाका अध्यक्ष जोशीले बताए ।
सम्झौतापत्रमा भनिएको छ ‘शिक्षण प्रणालीमा भावादित ध्यानलाई समावेश गरिने,जसले विद्यार्थीको मानसिक सन्तुलन, एकाग्रता, आत्मविश्वास र आन्तरिक शान्तिमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।’
‘यसको माध्यमा सृजनशिल प्रज्ञा विज्ञानको विधि पनि अभ्यास गराईनेछ । यस प्रणालीले परम्परागत शिक्षालाई वैज्ञानिक एवं आध्यात्मिकतासँग जोड्ने छ । समग्र जीवन निर्माणका आयामहरू उजागर सँगै आदर्श मानव विकासतर्फ उन्मुख गराउनेछ’ सम्झौतामा उल्लेख छ ।
महर्षि फाउन्डेसनका अन्तरराष्ट्रिय डाईरेक्टर राजा किन्गस्ले, लिसले, निर्देशक मीनराज अधिकारी र पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीलगायत अभिभावकको उपस्थिति रहेको कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
