दशकदेखि कञ्चनपुरमा पक्की पुल अलपत्र, सर्वसाधारण मारमा

बैशाख ३० धनगढी
कञ्चनपुर जिल्लामा विगत एक दशकदेखि निर्माणाधीन चारवटा पक्की पुल अझै अधुरो छन्। दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा निर्माण हुनुपर्ने पुलहरू ठेकेदारको लापरवाहीका कारण अलपत्र परेका हुन्।

सरकारबाट दिइएका ठेक्काहरू पटक–पटक म्याद थप गरिए पनि काम समयमै सम्पन्न हुन सकेको छैन। दोदा नदीमा बनिरहेको देखतभूली–लालझाडी जोड्ने पुल आर्थिक वर्ष २०७१/७२ मा २४ करोड २२ लाख लागतमा लुम्बिनी राजेन्द्र कुमार शर्मा जेभीले पाएको हो। पहिलो डिजाइन असफल भएपछि दोस्रोपटकको डिजायनमा पनि काम अवरुद्ध भएको छ। हालसम्म भौतिक प्रगति जम्मा २० प्रतिशत मात्र छ, तर वित्तीय भुक्तानी ४५ प्रतिशत भइसकेको छ।

ओदाल खोलामा ५ करोड ४७ लाख लागतमा निर्माण गरिरहेको थागिम गल्वा जेभीको प्रगति ८० प्रतिशत पुगेको छ भने कम्पनीलाई १० प्रतिशत हर्जाना तिराइएको छ।

मलरिया नालाको पुलमा ५५ प्रतिशत मात्र प्रगति भएको छ। ठेकेदार शंकरमाली अकेला जेभीको ठेक्का तोडिएको छ।

मुसेपानी खोलामा १५ करोड ४३ लाख लागतमा बनिरहेको पुलको प्रगति भने ७० प्रतिशत पुगेको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार काम नगर्ने ठेकेदारलाई कारबाही थालिएको छ। सूचना अधिकारी इञ्जिनियर हरिसप्रसाद जोशीले सबै पुलमाथि निगरानी बढाइएको र केही ठेक्का रद्द गरिने प्रक्रियामा रहेको जानकारी दिए।

यसअवस्थाले स्थानीय बासिन्दालाई ठूलो सास्ती भोग्नुपरेको छ। काठे पुलबाट जोखिम मोलेर नदी तर्ने बाध्यता अझै हटेको छैन। स्थानीयवासीले पुल निर्माणमा भएको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै पटकपटक सम्बन्धित निकायमा गुनासो गरेका छन्।

स्थानीय अगुवा जनकराज जोशीका अनुसार ठेकेदार कम्पनीले बजेट नपुगेको भन्दै काम रोकेर फर्किने गरेको छ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले पालिकाले पटकपटक दबाव दिएको तर अझैसम्म समाधान नआएको बताए।

यसैबीच, सडक मर्मत भने तीव्र गतिमा भइरहेको छ। एमएस कन्स्ट्रक्सन, कापली कन्स्ट्रक्सन र घोडासैनी निर्माण कम्पनीले विभिन्न खण्डमा सडक मर्मत कार्य गरिरहेका छन्।

पुल निर्माण अलपत्र पर्दा विकासको पूर्वाधारमै गम्भीर प्रश्न उठेको छ भने स्थानीयहरू दशकौँ देखिको सपना पुरा नहुनुमा असन्तुष्ट छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply