जेठ ५ धनगढी
रुकुम पश्चिम, २०८२ जेठ ६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जारी ‘जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पश्चिममा व्यापक जनसम्पर्क कार्यक्रमहरू सञ्चालन हुने भएका छन्।
अध्यक्ष प्रचण्डको भ्रमणको सुरुवात आज बिहान सानीभेरी गाउँपालिका–१ चाइनाबगरमा स्वागत कार्यक्रमबाट हुनेछ। त्यसपश्चात उनी चौरजहारी पार्टी कार्यालयमा शहीद परिवारहरूसँग भेटघाट गर्दै, जनयुद्धका घाइते अपाङ्ग तथा पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

दिउँसो १२ बजेदेखि विभिन्न स्थानबाट आएका जनसागरलाई समेटेर जुलुससहितको र्याली आयोजना गरिनेछ। र्यालीपश्चात दिउँसो १:३० बजे शंखपिपल मैदानमा जनसभा सुरु हुनेछ, जसमा अध्यक्ष प्रचण्डले प्रमुख सम्बोधन गर्नेछन्।
जनसभा समापनपछि चौरजहारी नगरकार्यपालिकाको कार्यालय अवलोकन, त्यसपछि मुसिकोट सेरिगाउँस्थित शहीद स्मृति सभाहलमा जनसंवाद कार्यक्रम राखिएको छ। प्रचण्ड त्यसै राति सेरिगाउँमै बास बस्ने कार्यक्रम रहेको छ।
भोलिपल्ट जेठ ७ गते बिहान साँखमा नास्ता र विदाई पश्चात अध्यक्ष प्रचण्ड रुकुमकोटका लागि प्रस्थान गर्नेछन्।
माओवादी केन्द्रले सञ्चालन गरेको यो अभियानले ग्रामीण भेगमा पार्टीको पहुँच विस्तार, जनसरोकारका विषयमा प्रत्यक्ष संवाद र संगठन सुदृढीकरणमा योगदान दिने विश्वास गरिएको छ।
