जेठ ६ धनगढी
नेपाली महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकप छनोटमा पुगेको छ । कप्तान इन्दु बर्माले पुनः एक पटक नेतृत्वदायी इनिङ्स खेलेपछि नेपालले थाइल्यान्डको राजधानी बैंककमा भइरहेको महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको हो ।
थाइल्यान्डले अघिल्लो दिन यूएईलाई ५४ रनले पराजित गरिसकेको अवस्थामा नेपालले सोमबार यूएईविरुद्धको खेलमा विजय हात पारेमा एक खेलअगावै ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने समीकरण बनेको थियो । नेपालले त्यहीअनुरूप खेल्दै यूएईलाई पराजित गरी इतिहास रच्न सफल भयो ।
मंगलबार नेपालले थाइल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ । ‘इतिहास रच्न सफल भएका छौं, नेपाली महिला क्रिकेटले यो स्तरको सफलता महसुस गर्न पाएको थिएन,’ कप्तान इन्दुले बैंककबाट कान्तिपुरसँग भनिन्, ‘विश्वकपमा पुग्नुभन्दा एक कदम मात्र पछाडि छौं, मंगलबार हुने थाइल्यान्डसँगको खेल जितेर एसिया च्याम्पियन बन्न चाहन्छौं ।’
थाइल्यान्ड र नेपालले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा खेल्नेछन् । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले इंग्ल्यान्डमा २०२६ मा हुने ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्नेछन् ।