जेठ ८ धनगढी
नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियानमा सुदूरपश्चिममा दश हजार जनालाई प्रत्यक्ष सम्बोधन गरेको बताएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश समितिले आधारभूत जनसमुदायका सात सय जनालाई प्रत्यक्ष सम्बोधन गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४ जिल्लाका १३ वटा पालिकाहरूमा अभियान पुगेको,शहीद, बेपत्ता परिवार तथा घाइतेहरूसँगको भेटघाट कार्यक्रमहरू ३ वटा, जनस्वागत १३ ठाउँमा, पार्टी प्रवेश झण्डै १ हजार जना, स्थानीय पालिकाद्वारा स्वागत १० ठाउँमा, जन समस्या अवलोकन ५ वटा, ज्ञापन पत्र ग्रहण ६३ वटा, ३ वटा मर्निङवाक र अनौपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘प्रशासनिक भेटघाट ४ वटा, उद्घाटन १,विभिन्न व्यक्तित्वहरूसँग भेटघाट १५ वटा, आन्तरिक पार्टी भेटघाट ४० टिम, आधारभूत जनसमुदायसँग प्रत्यक्ष सम्बोधन ७०० जति, प्रत्यक्ष सम्बोधन भएको जनसंख्या १० हजार, साँस्कृतिक प्रस्तुति प्रदर्शन ११ वटा र खेल प्रदर्शन १ वटा लगायतका कार्यक्रमहरू भव्य र शानदार रूपमा सम्पन्न भए ।’
अभियानको क्रममा बैतडी पाटनमा उद्घाटन समारोह, डडेल्धुराको बागबजार बसपार्कमा जनसंवाद, डोटीको पिपल्ला बजार र अछामको साँफेबगरमा जनसभा, मंगलसेनमा जनसंवाद कार्यक्रम र पञ्चदेवल विनायक नगरपालिकाले गरेको स्वागत कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
‘समग्रमा यो अभियानले क्रान्तिकारी ऊर्जा, सुदृढ जनसम्बन्ध, बलियो पार्टी एकता,पार्टीप्रतिको दरिलो विश्वसनीयता पैदा गरि राष्ट्र, राष्ट्रियता, समाजवादको पक्षमा मजबूद जनलहर प्रकट भएको छ’, विज्ञप्तिमा भनिएको छ,–‘यो अभियानलाई सफल पार्ने पार्टी नेतृत्व, सुदूरपश्चिमका नेताकार्यकर्ता र आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं ।’
सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको विधेयक सम्मानित संसदबाट पारित भएकोमा हार्दिक स्वागत गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को प्रधानमन्त्रीत्वकालमा विश्वविद्यालय स्थापनाको निर्णय भएर विधेयक तयार भई संसदमा दर्ता गरिएकोमा उक्त विधेयक पारित हुनु सुदूरपश्चिम र सिंगो देशवासीका लागि गौरवको विषय बनेको विज्ञप्तिमा भनिएको छ ।
माओवादी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियान जेठ २ गते बैतडीबाट सुरु भएको थियो । अभियानको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।