सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन ४ खर्ब २९ अर्ब हुने अनुमान

जेठ १२ धनगढी
सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन रु ४ खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान गरिएको छ । चालु आव २०८१/८२ मा प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा रु ४ खर्ब २९ अर्ब ६२ करोड हुने अनुमान गरिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको प्रादेशिक लेखा अनुमान सार्वजनिक कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।

तथ्यांक प्रस्तुत गर्दै तथ्यांक समन्वय कार्यालय कैलालीका प्रमुख गोविन्दप्रसाद न्यौपानेले गत आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव रु. ४ खर्ब ७ अर्ब रहने संशोधित अनुमान गरिएको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०३ प्रतिशत योगदान पुर्याउने प्रारम्भीक अनुमान गरिएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.३२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको र गत आर्थिक वर्षमा ३.२८ प्रतिशत रहने संशोधित अनुमान गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३४.७२ प्रतिशत) को रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवा क्षेत्र (०.१३ प्रतिशत) को रहने प्रारम्भिक अनुमान रहेको प्रस्तुत तथ्यांकमा उल्लेख छ ।

यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस क्षेत्र (८.७३ प्रतिशत) को र सबैभन्दा कम शिक्षा क्षेत्र (१.८० प्रतिशत) को हुने प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन रानाले प्रदेशको उत्पादन तथा आय वृद्धि गर्न कृषिलाई आधुनिकीकरण तथा बजारीकरणमा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रम तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply