लोप हुँदै शुभकार्यमा गुञ्जने मसक बाजा

जेठ १४ धनगढी
केही दशकअघिसम्म विवाह, व्रतबन्ध र शुभकार्यमा गुञ्जने मसक बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । आकर्षक कपडाले बेरिएको छाला र रबरको थैलामा हावा भरेर बाँसुरी जस्तै पिपिर जडान गरी बजाइने मसक बाजाका सिपालु मानिस भेटिन पनि मुस्किल हुन थालेको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्डमा यो बाजा प्रचलित छ । कुनै समय सुदूरपश्चिमका वैवाहिक समारोहमा अनिवार्य जस्तै हुने यो बाजा पछिल्लो समय विदेशी ब्यान्डबाजाको प्रयोगले सङ्कटमा परेको छ । मसक बाजा बजाउने नयाँ पुस्ताले पनि यो पेसा छोड्दै गएकाले यसको संरक्षणमा चुनौती थपिएको बैतडीका मसकबाधक ६५ वर्षीय कुर्रु दमाईंले बताए ।

दशरथचन्द नगरपालिका–४ मा सिलाइको काम गर्दै आएका कुर्रु दमाईं विगत ४० वर्षदेखि यो बाजा बजाउने बैतडी सदरमुकामका एक्ला बाधक हुन् । केही वर्षअघिसम्म विवाहमा मसक बाजाको माग हुने गरेकोमा पछिल्लो समय माग घट्दै गएको उनले दुःखेसो व्यक्त गरे । जन्ती/विवाहमा मसक बजाएको पाँच हजार रुपियाँ पारिश्रमिक लिने गरेको बताउने उनी भन्छन्, “पछिल्लो समय विदेशी ब्यान्डबाजा भित्रिएपछि बाजाको माग घट्दो छ । सिलाइको काम गरेर जीविका चलाउनुपर्ने बाध्यता छ ।”

मसक बाजाको धुनमा परम्परागत भाका, देवीदेउताका गाथा र सुख, दुःख र विरहका भाका बजाइने दमाईं भन्छन् “बाजाको धुन सुन्न मानिसको भिड लाग्ने गर्दथ्यो ।” अहिलेका विवाहमा मसक बाजा गुञ्जिन छाडेको दशरथचन्द नगरपालिका–६ का गोविन्दराज जोशीले बताए । छलिया बाजामा मसक बजाउँदाको रौनक बेग्लै हुने उनले स्मरण गरे । विवाह र शुभकार्यमा विदेशी बाजाको प्रयोग बढ्न थालेपछि मौलिक भाकासमेत लोप हुने अवस्थामा पुगेको मेलौली बैतडीका देउडा कलाकार मनोहर परियार बताए । उनले आजभोलिका विवाहमा छलिया, हुड्को र मसक बाजाको प्रयोग घट्दै गएको बताए । एउटा बाजा लोप हुनेबित्तिकै त्योसँग जोडिएका मौलिक भाका पनि सङ्कटमा पर्दै जाने उनको भनाइ छ । देउडा गीतका स्थानीय मौलिक भाका हिरा होटलैमा …, झा वसन्ती घाँस काटिल्या…,जस्ता मौलिक धुन हराइसकेको परियारले बताए ।

लामो स्वास तानेर हावाको थैलो भर्दै बजाउने सिप भएका मानिस मात्रै बाजा बजाउन सक्ने मनोहर परियारले बताए । यो बाजाको धुन घण्टौँसम्म निरन्तर बजिरहने खालको हुने भएकाले सबै मानिसले बजाउन नसक्ने अगुवा कलाकारको भनाइ छ । सुदूरपश्चिमका मौलिक बाजा हुड्को र मसक बाजाको संरक्षणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय भाषाको पाठ्यपुस्तकमा मौलिक बाजाको विशेषता समेटिनुपर्ने शिक्षा क्षेत्रका अगुवा गलिनाथ मावि, पुर्चौडीका प्रधानाध्यापक दिनेश नागारीले बताए । उनले मौलिक गीत, सङ्गीत र संस्कृतिको जगेर्ना गर्न स्थानीयस्तरमै सङ्ग्रहालय र कला केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply