बाजुरा आगलागी : ३५ पसलमा ८ करोडभन्दा बढीको क्षति

जेठ २४ धनगढी
शुक्रबार बाजुराको बूढीगङ्गा नगरपालिका– ६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले प्रारम्भिक रूपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलको रु एक करोड ८० लाख क्षति भएको पाइएको छ ।

यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।

आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
शुक्रबार अपरान्ह ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नि नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो गरेका छन् ।

‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो,’ पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

आगलागीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेका उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरूको गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply