जेठ २३ धनगढी
मानव इतिहासमा शताब्दियौंदेखि छोरीभन्दा छोराको चाहना धेरै रहँदै आएको छ।
पितृसत्तात्मक समाजमा केही अघिसम्म पनि बुबाको सम्पत्तिमा छोराको मात्र अधिकार हुन्थ्यो। प्राकृतिक हिसाबले छोरा पाउने कि छोरी भनेर हस्तक्षेप गर्न नमिल्ने हुँदा पहिले छोरा र छोरी झन्डै उस्तै संख्यामा जन्मन्थे। तर आफ्नै सन्तान भए पनि छोरीलाई हेला गर्ने र छोरालाई पुल्पुल्याएर हुर्काउने प्रवृत्ति थियो।
हाम्रै समाजमा छोरालाई राम्रो शिक्षा दिन अंग्रेजी स्कुलमा पढाइन्थ्यो भने छोरीलाई सरकारी स्कुल भर्ना गरिन्थ्यो। कतिले त छोरीलाई ‘अर्काको घर जाने’ भन्दै स्कुल नै पठाउँदैन थिए। घरकै कामकाज गराएर राख्थे।
बीसौं शताब्दीमा परिवार नियोजन विज्ञान विकास भएपछि पहिले छोरा भए छोरी नपाउने तर छोरी भए छोरा नपाउञ्जेल बच्चा जन्माइरहने चलन संसारभरि नै रह्यो। सन् १९८० दशकमा अल्ट्रासाउन्ड प्रविधिबाट गर्भावस्थामै बच्चाको लिंग पत्ता लगाउन मिल्ने भएपछि त गर्भपतन गरेर धेरै छोरीलाई जन्मनै दिइएन।
सुरूमा विकसित देशहरूमा उपलब्ध यो प्रविधि बिस्तारै विकासशील र अविकसित देशमा पनि उपलब्ध हुन थालेपछि यस्तो अपराध त्यता पनि फैलियो। विश्वमा सबभन्दा धेरै जनसंख्या भएको चीन र भारतमा करोडौं संख्यामा छोरीहरू गर्भपतनका सिकार भए।
गरिब चीनको कम्युनिस्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चा मात्र जन्माउन पाउने नीति कडाइसाथ लागू गर्यो। यो नीतिले छोरीको गर्भपतन झन् ठूलो संख्यामा भयो। भारतमा यस्तो सरकारी नीति नभए पनि सामाजिक रूपमै छोरीभन्दा छोराको चाहना धेरै थियो। छोरी भए बिहे गर्दा दाइजो दिनुपर्ने र छोरा भए वंश अघि बढ्ने परम्परागत मान्यताका कारण भारतमा छोरीको गर्भपतन बढ्यो।
यसरी गर्भमै छोरीको हत्या हुन थालेपछि छोराको संख्या धेरै हुन थाल्यो।
प्राकृतिक रूपमा १०० जना छोरी जन्मँदा करिब १०५ जना छोरा जन्मिन्छन् भनिन्छ। हुर्काउने क्रममा छोरीभन्दा छोराको मृत्यु तुलनात्मक धेरै हुने र अझ त्यति बेलाको समाजमा युद्ध धेरै हुने भएकाले ठूलो संख्यामा पुरूषहरूको मृत्यु हुन्थ्यो। त्यही भएर प्रकृतिले नै प्रजननका लागि महिला र पुरूष बराबर होऊन् भनेर यस्तो हिसाब मिलाएको मान्यता थियो।