जेठ २७ धनगढी
जापानको चालू खाता नाफा चालू वर्षको अप्रिल महिनामा वार्षिकरूपमा तीन दशमलव प्रतिशतले वृद्धि भई दुई दशमलव २६ ट्रिलियन येन (१५ दशमलव छ अर्ब अमेरिकी डलर) पुगेको छ । यो वृद्धि मुख्यरूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवधिमा जापानको व्यापार घाटा ३२ दशमलव आठ अर्ब येनमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४ दशमलव आठ प्रतिशत कम हो । निर्यात चार प्रतिशतले बढेर आठ दशमलव ७७ ट्रिलियन येन पुगेको र आयात दुई दशमलव नौ प्रतिशतले घटेर आठ दशमलव ८० ट्रिलियन येनमा झरेपछि व्यापार घाटामा ठूलो मात्रामा कमी आएको हो ।
प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा नौ दशमलव छ प्रतिशतले घट्दै तीन दशमलव ५९ ट्रिलियन येनमा झरेको छ । यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो ।
त्यस्तै, सेवा व्यापारतर्फ घाटा चार दशमलव आठ प्रतिशतले वृद्धि भई सात सय ६८ दशमलव एक अर्ब येनमा पुगेको छ । बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ ।
पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८ दशमलव तीन प्रतिशतले बढेर छ सय ७५ दशमलव सात अर्ब येनमा पुगेको छ । अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भई करिब तीन दशमलव ९१ मिलियन पुगेको छ ।