आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

असार ३ धनगढी
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको हो ।

यहाँ कृत्रिम ताल, पैदलमार्ग, दृश्यावलोकन केन्द्र, ट्रिहाउसलगायत संरचना निर्माण गरिएको छ । आँधीमूललाई सौन्दर्यकरणका लागि रु एक करोड ५० लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले यहाँ मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ताल निर्माण सकिएको छ । तालमा डुङ्गा शयर गर्न मिल्नेगरी व्यवस्थापन गरेका छौँ ।”

आँधीमूलमा प्रसिद्ध मन्दिर रहेकाले धार्मिक पर्यटनलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटक आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर पर्यटन प्रवर्द्धनको प्रयास थालेका हौँ ।”

यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै अध्यक्ष चुमालले ताल निर्माणपश्चात् पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँदै जानेछौँ । तालबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।” उहाँका अनुसार विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने योजना बनाइएको छ ।

आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका उहाँले बताउनुभयो ।

समितिका अध्यक्षका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताको रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार र प्रचलन रहिआएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरीका माछा मरेमा पूजारीले निकाली खाल्डो खनेर अन्त्येष्टि गरिँदै आइएको छ ।

प्राचीनकालदेखि यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि हरिबोधनी एकादशीका दिन फूलको डोली यहाँ विसर्जन गरिनुका साथै मन्दिर परिसरमा तोरण टाँग्ने परम्परा चलिआएको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जल, जङ्गल, जमिनलाई पूँजा गर्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा यस मन्दिरमा पूजाआजा गर्दछन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका समितिका अध्यक्षले बताउनुभयो । पृथ्वीराजमार्गबाट नजिकै रहेकाले यस ठाउँ पछिल्लो समय आन्तरिक धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको उहाँको भनाइ छ ।

यहाँ पुग्ने सडक कालोपत्र गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्गको दुई किलोमिटरको दूरीमा आँधीमूल पर्दछ । हालसम्म नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चुमालले जानकारी दिनुभयो । यहाँ मन्दिर, २३ धारालगायत संरचना रहेका भन्दै धार्मिक पर्यटक ती संरचना र सुन्दरताका कारण आकर्षित हुने गरेका उहाँले बताउनुभयो ।

आँधीमूलमा ठूलो एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ । यसस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका जनाउँदै अध्यक्ष चुमालले मन्दिरमा साउन र औँसीबाहेक सबै दिनमा पूजा हुने बताउनुभयो । उहाँका अनुसार आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply