राजेन्द्र न्यौपाने
३ असार, गोरखा । गोरखा अस्पतालमा उपचारका लागि विरामीहरुको भिड लाग्ने गरेको छ । उपचारका लागि आउने विरामीहरु विहानै देखि पालो कुर्न लामबद्ध देखिन्छन् । आर्थिक वर्ष २०८०।०८१ मा गोरखा अस्पतालबाट उपचार सेवा लिनेको सँख्या ९५ हजार ५७७ जना थियो भने एक हजार ७८ जनाको अप्रेसन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.सिद्धार्थ खनालले बताउनुभयो ।
५० शैयाको स्वीकृति प्राप्त उक्त प्रदेश अस्पतालले हाल ८६ शैया निर्माण गरी सेवा प्रदान गरिरहेको छ । अस्पतालले विशेषज्ञ सेवा प्रदान गरेको छ । सेवा सुदृढीकरण गरिरहेको छ । सेवाग्राहीको सँख्यामा वृद्धि भएको छ । उपचारका लागि गोरखा वाहिर काठमाण्डौ, चितवन, पोखरा जाने विरामीहरुको सँख्यामा कमी आएको छ । अस्पतालको सेवामा वृद्धि गरेसँगै गोरखा जिल्लाका नागरिकहरुले उपचारमा थप सेवा पाएका छन् । आर्थिक वर्ष ०७६।०७७ मा २० हजारलाई सेवा दिएको अस्पतालले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ९८ हजार ७१९ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।