असार ४ धनगढी
आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो ।
बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको थियो । यसका लागि १० अर्ब १६ करोड बजेट विनियोजित गरिएको थियो ।
सोही अनुसार अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्धि गरिएको हो ।
हाल बाल विकास शिक्षकहरूको हकमा सङ्घीय सरकारबाट १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भने आगामी आर्थिक वर्षदेखि २ हजार बढाएर १२ हजार मासिक तलब पाउनेछन् ।
त्यस्तै लेखापालले १३ हजार ५०० रुपैयाँ पाउँदै आएकोमा बढाएर १५ हजार पाउनेछन् भने कार्यालय सहयोगीले ८ हजार पाउँदै आएकोमा अब १० हजार पाउनेछन् । यसमा स्थानीय तहहरूले समेत थप अनुदान दिँदै आएका छन् । अहिले सङ्घीय सरकारबाट पाउने रकममा सात हजार रुपैयाँ स्थानीय तहले उपलब्ध गराउँदै आएका छन् ।