डम्बर माया सार्कीको अगुवाइमा वैदिक शिक्षा अभियान: प्रत्येक दिन ४५ जना भक्तजनको सक्रिय सहभागिता

असार ५ धनगढी
झापा, कोशी प्रदेश १ — वैदिक शिक्षालाई समावेशी बनाउने उद्देश्यसहित बृन्दावनमा श्रीमद्भागवत तथा विविध विषय अध्ययन गरी फर्किएकी सङ्गीतमय कथा वाचिका डम्बर माया सार्की शास्त्रीको अगुवाइमा हालसम्म ५७७ जना शिल्पी समुदायका महिला तथा पुरुषहरूले वैदिक तालिम प्राप्त गरिसकेका छन्।

३८ वर्षीया कौशिक गोत्रीय डम्बर माया सार्की झापा बालुवाटार, लक्ष्मीपुरमा बसोबास गर्दै आएकी छन्। उहाँका दुई छोरीहरूले संस्कृत अध्ययन प्रारम्भ गरिसकेका छन् र छिट्टै चारै वेद अध्ययनका लागि काशी जाने तयारीमा छन्। स्वयं शास्त्री डम्बर माया पनि श्रीमद्भागवतको गहन अध्ययन गर्न आगामी ३ वर्ष वृन्दावनमा बस्ने योजनामा छिन्।

उहाँको नेतृत्वमा रहेको श्री हरि सतसङ्घ समिति नेपालले नेपालका विभिन्न जिल्लाबाट शिल्पी समुदायका सदस्यहरूलाई वृन्दावन तथा भारतको श्री केसवधाममा पठाई वैदिक पद्धतिबाट कर्मकाण्ड र श्रीमद्भागवतको तालिम प्रदान गर्दै आएको छ।

त्यस्तै, शास्त्री डम्बर माया अहिले संस्कारशिरोमणि पण्डित गणेश प्रसाद पन्तको गुरुकुलमा पनि अध्यापन तथा सेवा कार्यमा संलग्न रहँदै भक्तजनहरूलाई आध्यात्मिक शिक्षामा संलग्न गराइरहेकी छन्।

गुरुकुलमा हरेक दिन ४५ जना भक्तजनको नियमित सहभागिता रहँदै आएको छ। बिहान स्कुल जाने नानी–बाबुहरूदेखि लिएर वयस्कहरू पनि सहभागी हुने गरेका छन्। हाल त्यहाँ ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिलाको सहभागिता रहेको छ भने आगामी एक महिनाभित्र यो संख्या १२५ जना दैनिक उपस्थिति सम्म पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा ज्योतिषाचार्य किरण लामगडेको सक्रिय उपस्थिति देखिन्छ भने कर्मकाण्डविद अर्जुन कालिकोटे शास्त्री पनि बिहान बेलुका विभिन्न अध्ययन-अध्यापन कार्यमा सक्रिय छन्।

निकट भविष्यमा ५०० शिल्पी समुदायका गुरुहरू सहित १,००० जना सहभागी हुने समावेशी भोजन कार्यक्रम आयोजना गर्ने तयारी समेत गरिएको छ।

डम्बर माया सार्की शास्त्रीको यो समर्पित पहलले वैदिक शिक्षालाई समुदायसम्म पु-याउने अभियानमा नयाँ आयाम थपेको स्पष्ट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply