असार ८ गते धनगढी
इसराइल-इरानबीचको तनावमा अमेरिका पनि सामेल भएको छ।
इरानविरूद्धको युद्धमा इसराइललाई सघाउँदै अमेरिकाले इरानी आणविक भट्टीहरूमा बम खसालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन परमाणु परियोजनामा हमला गरेको भनेका छन्। नतान्ज, फर्दो र इस्फहानका परमाणु कार्यक्रमलाई बम खसालेर अमेरिकी बम वर्षक विमान इरानी आकाशबाट सुरक्षित फर्किएको ट्रम्पले बताएका छन्।
‘हाम्रा बहादुर अमेरिकी सेनाहरूलाई बधाई छ। अब शान्तिको समय हो,’ ट्रम्पले लेखेका छन्।
अमेरिकाले पुनः हमला गर्ने/नगर्ने भन्नेबारे ट्रम्पले आइतबार गर्न लागेको सम्बोधनमा बताउनेछन्।
अमेरिकी हमलाबाट इरानका आणविक भट्टीहरूमा कति क्षति पुग्यो भन्ने विवरण सार्वजनिक भइसकेको छैन। यद्यपि इसराइलले ती भट्टीहरू ध्वस्त बनाउन आफ्नो बलले नपुग्ने भएकाले बारम्बार अमेरिकालाई सघाउन आग्रह गर्दै आएको थियो।
जमिनको धेरै तल बनेका आणविक हतियार परियोजना ध्वस्त पार्न सक्ने क्षमताका बम अमेरिकासँग मात्रै रहेको बताइन्छ।
ती भट्टीहरू ध्वस्त बनाउन अमेरिकाले आफूसँग रहेको झन्डै १४ टन क्षमताको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्ने हुन्छ। यो बंकर ध्वस्त पार्ने सामर्थ्य भएको ‘बंकरभेदी’ बम हो। गएरातिको हमलामा अमेरिकाले त्यही बम खसालेको हो कि अरू नै हो भन्ने विषय पनि खुलिसकेको छैन।
अहिले अमेरिकाले बम खसालेको दाबी गरेको इरानका तीन परमाणु परियोजना क्षेत्रकोबारेमा थोरै चर्चा गरौं-
नतान्ज
नतान्जन इरानको राजधानी तेहरानबाट करिब २५० किलोमिटर दक्षिणमा अवस्थित छ। ९ दिनको अवधीमा नतान्जमा इसराइलले पनि पटकपटक हमला गरेको छ।
नतान्ज इरानको सबैभन्दा ठूलो युरेनियम संबर्द्धन सुविधा मानिन्छ। विश्लेषकहरूका अनुसार, यहाँ युरेनियमलाई परमाणु इन्धनमा रूपान्तरण गर्ने प्रविधिको विकास र सेन्ट्रीफ्यूजहरूको निर्माण हुन्छ।
नतान्जमा ६ वटा जमिनमाथिका भवन र ३ वटा भूमिगत संरचना रहेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ। न्युक्लियर थ्रेट इनिसियटिभ (एनटिआइ)ले नतान्जमा दुई भूमिगत संरचनाले ५०,००० सेन्ट्रीफ्यूज राख्न सक्ने संरचना रहेको भनेको छ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए)का अनुसार नतान्जको पाइलट फ्युल इनरिचमेन्ट प्लान्टमा ६०% शुद्धतासम्म युरेनियम संवर्धन भइरहेको थियो। हतियार-ग्रेड युरेनियम ९०% शुद्धताको हुन्छ।
फर्दो
फर्दो पहाडमुनी रहेको आणविक परियोजना हो। यो इरानी सहर कोमनजिकै छ। यो भट्टीको प्रकृतिबारे धेरै कुराहरू अझै अज्ञात रहेको सिएनएनले लेखेको छ।
यो पहाडको २६२ देखि २९५ फिट तल रहेको भनिएको छ। यो भट्टी ध्वस्त बनाउने बम अमेरिकासँग मात्रै रहेको मानिन्छ। फर्दोमा पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन हुन्छ भनेर सिएनएनले लेखेको छ। यो सुविधामा २ हजार ७०० सेन्ट्रीफ्यूज छन्।
इस्फहान
इस्फहानको आणविक भट्टी मध्य इरानमा अवस्थित छ। यो इरानको सबैभन्दा ठूलो परमाणु अनुसन्धान परियोजना हो। यसलाई परमाणु हतियारको केन्द्र मानिन्छ। यो १९८४ मा चीनको सहयोगमा स्थापना भएको थियो। यहाँ तीन हजारभन्दा बढी परमाणु वैज्ञानिक कार्यरत छन्।
इस्फहानमा तीन साना चिनियाँ अनुसन्धान रियाक्टर, एक कन्भर्सन सुविधा, इन्धन उत्पादन प्लान्ट, जिरकोनियम क्ल्याडिङ प्लान्ट, र अन्य सुविधा तथा प्रयोगशालाहरू रहेको सिएनएनले जनाएको छ।
अमेरिकी हमलाबाट यी क्षेत्रमा कति क्षति भयो भन्ने खुलिसकेको छैन।
अमेरिका पनि इरानविरूद्ध आक्रमणमा उत्रिए पछि मध्यपूर्वको संकट थप गिजोलिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसबारे इरानले तत्काल केही प्रतिक्रिया दिएको छैन। यद्यपि उसले पहिल्यै इरानमाथि अमेरिकाले हमला गरे त्यसको जबाफमा मध्यपूर्वका अन्य देशमा रहेका अमेरिकी सैन्य संरचनामा हमला गर्ने चेतावनी दिएको थियो। साभार सेतोपाटी