असार १३ धनगढी
कैलालीको चुरे गाँउपालिका अन्तर्गत रहेको खानीडाँडा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
खानीडाँडामा दिनहुँ सयौको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।
साईपाल रिसोर्ट खाँनीडाडाका सञ्चालक श्याम महराले बिगत केही वर्षयता भारतका बिभिन्न शहर र नेपालकै बिभिन्न स्थानबाट गर्मी छल्न पर्यटकहरु आउने गरेको बताए ।
केही वर्षअघिसम्म भीमदत्त राजमार्गमा चल्ने यात्रु बाहक बस र अन्य सवारी साधनको बिश्राम स्थल एवं खाना खानका लागि रोकिने ठाउँका रुपमा चिनिने खाँनीडाँडा पछिल्ला केही वर्षयता भने पर्यटकहरुको समेत गन्तव्य बनेको हो ।
तराईमा चर्को गर्मी र जाडो छल्न यहाँ पर्यटक आउने गरेका छन् ।
चुरे श्रृंखला अन्तर्गत झण्डै एक हजार ३ सय मिटरमा रहेको खानीडाँडाको मौसम समयानुकुल रहेको छ । राज्यका निकायले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरि दिए यहाँको पर्यटनमा उल्लेख्य सहयोग पुग्ने रिवाज होटलका संचालक नैन सिंह बोहराले बताए ।
उनले कम्पासेधुरा जाने सम्मको सडक निर्माण हुन सक्यो भने यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पनि बताए । उनले तराइका विभिन्न क्षेत्रवाट गर्मि छल्न र जाडो मौसममा घाम ताप्न यो क्षेत्र रोजाइमा पर्ने थालेको उनको भनाइ छ ।
गर्मी छल्न र प्राकृतिक मनोरम दृष्यावोलकनका लागि भारतको पलिया, लखिमपुर, लखनऊ,दिल्ली, पञ्जाव र उत्तराखण्डका बिभिन्न स्थानबाट भारतीय पर्यटकहरु आउने गरेका छन् ।
शनिवार नेपाली पर्यटक र आईतवार भारतीय पर्यटकहरुको भीड खानीडाँडामा लाग्ने गर्दछ ।
खानीडाँडाको सिरानमा रहेको कम्पासे धुराको प्रचार प्रसार र सुबिधा युक्त होटलहरुको स्थापना भएमा खानीडाँडा कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने स्थानीय बासिन्दाको विश्वास छ ।