सिरहा, १७ असार : यहाँको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक विशेष कार्यक्रममा आज यस्तो घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक दिलिप लामाले खोप सुनिश्चितता घोषणा गर्दै खोप अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो,“पूर्ण खोप अभियान एकपटकको कार्यक्रम होइन, यो निरन्तर चलिरहने जिम्मेवारी हो । समुदायको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पण नै यसको सफलताको आधार हो ।”
उपप्रमुख लामाले गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले खोप अभियानलाई सफल बनाउन योगदान दिने सम्पूर्ण कर्मचारी, स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो,“खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा बलियो ढोका हो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनुहुँदैन । हामीले सबै वडामा यो सुनिश्चित गरेका छौँ, र आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गरिनेछ ।”
नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले राष्ट्रिय खोप तालिकाअनुसार नगरका १४ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि यस्तो घोषणा गरिएको बताउनुभयो । उहाँले थप जानकारी दिँदै भन्नुभयो,“हामीले साउनदेखि पुससम्म नियमित घरभेट सर्वेक्षण गर्दै खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरेका थियौँ । वैशाख महिनासम्म सबैलाई आवश्यक खोप दिइएपछि यो उपलब्धि सम्भव भएको हो ।”
घोषणाअघि गरिएको सर्वेक्षण, खोप अभिलेख सङ्कलन तथा अभिमुखीकरण अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रममा जानकारी दिइएको थियो । त्यस क्रममा खोप सहजीकरणका लागि योगदान गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
पालिकास्तरीय पूर्ण खोप सुनिश्चितताबारे थप जानकारी दिँदै स्वास्थ्य कार्यालयकी खोप अधिकृत सुनिता कँडेलले भन्नुभयो,“पूर्ण खोप सुनिश्चितता कुनै एक तहको काम होइन, यो समन्वय, लगनशीलता र निरन्तर निगरानीको नतिजा हो ।” (रासस)