नेप्सेमा दोहोरो अंकको वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार

साउन ५ धनगढी
केही समयदेखि २९ सय विन्दुमा प्रतिरोध परिक्षण गरिरहेको नेप्से बजार बन्द हुँदा २८९२ विन्दुमा आइपुगेको छ। आइतबार ५१ अंक बढेर २९२२ सम्म पुगेर फर्किएको नेप्से सोमबार पनि २९ सयको तहबाट ओर्लिएको हो।

नेप्से परिसूचकले तत्काललाई २९ सयको विन्दुमा प्रतिरोध परिक्षण गर्ने देखिएको छ।

सोमबार कारोबारमा आएका सबै समूहगत परिसूचकमा सुधार भयो। सबैभन्दा धेरै लघुवित्त, ‘अन्य’, विकास बैंक र बीमा समूहमा सुधार देखियो। यी समूहगत परिसूचकमा १.४० प्रतिशतदेखि २.८० प्रतिशतसम्म वृद्धि भएको छ।

यसदिन तीन कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ। थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो।

ट्रेड टावर र सान्भि इनर्जी हालै सूचीकृत भएकाले पनि यी कम्पनीको सेयर मूल्य बढ्दो क्रममा छ। त्यस्तै, दोस्रो त्रैमाशमा नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेपनि थ्री स्टारको मूल्य केही दिन यता भने बढ्दो क्रममा छ।

यद्यपी कम्पनीले सो समय टरवाइनमा मर्मत सम्भार भएकोले उत्पादन गत वर्षभन्दा धेरै हुने प्रक्षेपण समेत विवरणमा उल्लेख गरेको थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६ करोड नाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी ४९ करोड रहेकोले पनि सेयरको मागभन्दा आपुर्ति कम देखिएको छ।

कम्पनीको यसअघि एक हजार माथिसम्म मूल्य पुगेकोले पनि पुरानो मूल्य हेरेर लगानीकर्ता आकर्षित भएका देखिन्छन्।

ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा पनि १० प्रतिशतले मूल्य घटेर सर्किट लागेको छ। यस दिन तीन सय ११ धितोपत्र तथा ऋणपत्र लगायतको कारोबार हुँदा एक सय ८० को मूल्य बढेको छ भने एक सय २१ वटाको मूल्य घटेको छ।

यस दिन पुनर्बीमा कम्पनीहरू नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्सको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। यी कम्पनीको क्रमशः ७५ करोड २५ लाख रूपैयाँदेखि ७५ करोड ६६ लाख रूपैयाँको सेयर किनबेच भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply