साउन ८ धनगढी
थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ ।
यो निर्णय एक थाई सैनिक बारुदी सुरुङ विस्फोटमा घाइते भएपछि गरिएको हो । प्रतिक्रियामा, कम्बोडियाले पनि सबै थाई कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गर्दै बैंककबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलायो । एपीले छापेको समाचारका अनुसार विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सैनिकहरूले पनि एकअर्कामाथि गोली चलाएका छन् ।
थाई सेनाले थाइल्याण्डको उबोन रत्चाथानी प्रान्तमा विस्फोट भएको दाबी गरेको छ । यस घटनामा पाँच सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएका बताइएको छ । उता, कम्बोडियाले चाँहि विस्फोट उनीहरूको प्रेह विहार प्रान्तमा भएको दाबी गरेको छ । आपसी सहमति हुँदा हुँदै पनि सीमामा नयाँ बारुदी सुरुङ बिछ्याइएको आरोप दुवै पक्षले एकअर्कामाथि लगाइरहेका छन् ।
विस्फोटमा प्रयोग गरिएका सुरुङहरू रुसी प्रविधिको भएको आरोप थाई अधिकारीहरूले लगाएका छन् । बारुदी सुरुङहरू दुवै देशले संयुक्त रूपमा सुरक्षित मार्गहरू भनेर घोषणा गरेको मार्गमा बिछ्याइएको भनिएको छ । थाइल्यान्डले कम्बोडियालाई ओटावा सन्धिको उल्लङ्घन गरेको आरोप पनि लगाएको छ, यो सन्धीले एन्टी–पर्सनल माइनहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले थाई आरोपहरूलाई अस्वीकार गरेको छ । विस्फोट उनीहरूको क्षेत्रमा भएको र थाई सैनिकहरूले २००० को सम्झौताको उल्लङ्घन गर्दै विवादित क्षेत्रमा गस्ती गरेको उसको भनाइ छ । सीमा क्षेत्रमा धेरै बारुदी सुरुङहरू अझै पनि २० औं शताब्दीको द्वन्द्वको विरासतको रूपमा रहेको र उनीहरूको तर्फबाट कुनै नयाँ सुरुङहरू नबिछ्याइएको पनि मन्त्रालयले भनेको छ ।
कूटनीतिक सम्बन्धमा दरार
तनावका कारण थाइल्यान्डले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै कम्बोडियाली कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । प्रतिक्रियामा, कम्बोडियाले बैंककबाट आफ्ना सबै कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउनुको साथै थाई फिल्म र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ । साथै, थाई फलफूल र तरकारी, इन्धन र इन्टरनेट सेवाहरूको आयात पनि बन्द गरिएको छ ।
यस घटनाको बारेमा विदेश मन्त्रालयले आधिकारिक विरोध दर्ता गर्ने र अन्य विकल्पहरू पनि विचार गरिरहेको थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले बताए । जुलाई १ मा, सीमा विवादका कारण थाई प्रधानमन्त्रीलाई नैतिक अनुसन्धानको लागि निलम्बन गरिएको थियो । यस्तो अवस्थामा, यी घटनाहरूले दुई देशबिचको सम्बन्धलाई अझ गम्भीर मोडमा पुर्याउने विश्लेषण भइरहेका छन् ।