कोशीमा खडेरीको मार : २१ प्रतिशतले घट्यो रोपाइँ

साउन ९ गते धनगढी
यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको रोपाइँ गत वर्षको तुलनामा २१ प्रतिशतले घटेको छ ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशले साउन ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म जम्मा ६१.७९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८२.६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

निर्देशनालयको प्रतिवेदनमा उल्लेख गरिएको कैफियतमा रोपाइँ घट्नुको मुख्य कारण ‘पानी कम परेर’ उल्लेख छ । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, सङ्खुवासभा, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा, झापा र सुनसरी लगायतका अधिकांश जिल्लामा रोपाइँ कम हुनुको कारण ‘पानी कम परेर’ उल्लेख छ ।

तराईका धान उत्पादनका मुख्य पकेट क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा समेत पर्याप्त वर्षा नहुँदा खेतहरू बाँझै छन् । मोरङमा जम्मा ५० प्रतिशत र झापामा ६८.६० प्रतिशत मात्र रोपाइँ भएको छ । जुन चिन्ताजनक अवस्था हो ।

समयमा पानी परेका जिल्लाहरूमा भने रोपाइँको अवस्था उत्कृष्ट छ । सोलुखुम्बुमा ८४.३१ प्रतिशत र खोटाङमा ८१.३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यी जिल्लाहरूमा समयमा वर्षा भएकाले रोपाइँ सन्तोषजनक रहेको निर्देशनालयले जनाएको छ ।

उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा औसत ५०.४२ प्रतिशत मात्र रोपाइँ भएको छ । ताप्लेजुङमा प्रदेशकै सबैभन्दा कम ४३.७३ प्रतिशत मात्रै रोपाइँ भएको छ । मध्य पहाडमा ६४.५५ प्रतिशत र तराईमा ६१.७३ प्रतिशत रोपाइँ भएको छ ।

तथ्याङ्क अनुसार प्रदेशमा कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ । अबका केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा नभएमा प्रदेशको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने निर्देशनालयका प्रमुख प्रकाश डाँगीले बताए । साभार रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply