कञ्चनपुर, साउन ९
सुदूरपश्चिम विश्वविद्यालय (सुपवि) केन्द्रीय क्याम्पसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन अझै अन्यौलमा परेको छ। उम्मेदवारी दर्ताकै दिन सत्तारूढ नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) समूहले गरेको तालाबन्दी तीन दिनपछि खुलेको भए पनि निर्वाचन नियमित कार्यतालिकाअनुसार हुने वा नहुने स्पष्ट छैन।
नेविसंघ नरेश पण्डित समूहले ६ साउनमा उम्मेदवारी दर्ताको दिन निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए। प्रहरीद्वारा आफ्ना विद्यार्थीमाथि भएको भनिएको लाठीचार्जको विरोधमा उनीहरूले साँझ सुरक्षाको माग गर्दै तालाबन्दी गरेका थिए।
तर बिहीबार विश्वविद्यालय पदाधिकारी र नेविसंघबीच सहमति भएपछि तालाबन्दी खोलिएको हो। नेविसंघ केन्द्रीय सदस्य इन्द्र साउदका अनुसार कुटपिटको छानबिन, उपचार खर्चको व्यवस्था, पेट्रोल छर्किएर आक्रमणको प्रयासजस्ता घटनाको छानबिन र विद्यार्थी हकहित सम्बन्धी माग विश्वविद्यालयले मौखिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको हो।
तर निर्वाचन समितिका संयोजकसहितका पदाधिकारीहरूले भने ‘निर्वाचनका लागि अनुकूल वातावरण छैन’ भन्दै सामूहिक राजीनामा दिएका छन्। विश्वविद्यालयले उनीहरूको राजीनामा अस्वीकृत गर्दै पुनः सोही टोलीमार्फत प्रक्रिया अघि बढाउने तयारी गरिरहेको केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्दले बताए।
उनले सबै पक्षबाट निर्वाचनको वातावरण निर्माण गर्न अपिल गर्दै भने, “सर्वदलीय सहमतिमा चुनाव गराउने तयारीमा छौं, निर्वाचन समितिबाट प्रक्रिया अघि बढिरहेको छ।”
यसपटक तीन स्वतन्त्रसहित १० विद्यार्थी संगठनले उम्मेदवारीका लागि दर्ता गराएका थिए। १४ साउनका लागि तोकिएको चुनाव कार्यतालिका तालाबन्दी र विवादका कारण प्रभावित भएको छ। अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल समाजवादी, बहुमत क्रान्तिकारी, प्रजातान्त्रिक विद्यार्थी संगठनजस्ता समूहहरूले भने निर्धारित मितिमै चुनाव गर्नुपर्ने अडान राख्दै आएका छन्।
सुपविका अन्य आंगिक क्याम्पसमा समयमै निर्वाचन भए पनि केन्द्रीय क्याम्पसमा पटक–पटक स्थगित हुँदै आएको छ। लगभग ३,५०० विद्यार्थी प्रतिनिधि छान्ने अवसर नपाउँदा निराश छन्। विद्यार्थीहरूका अनुसार अब निर्वाचन प्रक्रियालाई विश्वासिलो र पारदर्शी बनाउन संगठन र विश्वविद्यालय दुवै पक्ष जिम्मेवार बन्नुपर्ने समय आएको छ।