भारतीय क्रिकेटर यश दयालमाथि बालिका बलात्कारको आरोप

साउन ९ धनगढी
भारतीय क्रिकेटर तथा आइपिएल टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) का तीव्र गतिका बलर यश दयालमाथि नाबालिक बलात्कारको आरोप लागेको छ।

एनडिटिभीका अनुसार जयपुरको सांगानेर प्रहरी चौकीमा दयालविरुद्ध उजुरी दर्ता भएको छ। उजुरीमा उनले एक युवतीलाई दुई वर्षसम्म भावनात्मक रूपमा ब्ल्याकमेल गर्दै बलात्कार गरेको आरोप लगाइएको छ।

रिपोर्ट अनुसार दयालले पीडितलाई क्रिकेटमा करियर बनाइदिने प्रलोभन देखाएर सितापुराको एक होटलमा बोलाएका थिए। जहाँ पहिलो पटक यौन दुर्व्यवहार भएको थियो।

पहिलो घटना हुँदा पीडित किशोरी केवल १७ वर्षकी थिइन्। त्यसैले प्रहरीले यो मुद्दालाई यौन अपराधबाट बालबालिकाको संरक्षण गर्ने कानुन अन्तर्गत दर्ता गरेको छ।

यो घटना बाहिर आउनुअघि नै दयाल अर्को एक यौन शोषणको मामिलामा पनि मुछिएका थिए। इलाहाबाद उच्च अदालतले हालै उनको गिरफ्तारीमा रोक लगाएको थियो।

न्यायाधीश सिद्धार्थ वर्मा र अनिल कुमारको इजलासले दयालको निवेदनमाथि सुनुवाइ गर्दै गिरफ्तारीमा रोक लगाउने आदेश दिएको थियो। अदालतले सरकारी वकिल र उजुरीकर्ता दुवैलाई जवाफ पेस गर्न भनेको छ।

२७ वर्षीय दयालविरुद्धको पहिलो उजुरी गाजियाबादको इन्दिरापुरम प्रहरी चौकीमा जुलाई ६ मा दर्ता भएको थियो। त्यसमा भारतीय न्याय संहिताको धारा ६९ (छलपूर्ण तरिकाले वा विवाहको झुटो वाचा गरेर यौन सम्बन्ध राख्ने) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उजुरीकर्ता महिलाका अनुसार उनको र दयालको भेट करिब पाँच वर्षअघि भएको थियो र दयालले उनीसँग विवाह गर्ने वाचा गरेका थिए। तर, दयालले विवाहको कुरा टार्दै गए र पछि उनी अन्य महिलासँग पनि सम्बन्धमा रहेको थाहा पाएपछि महिलाले उजुरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply