साउन ११ धनगढी
आठ दिन लगातार बढेको नेप्से परिसूचक आइतबार भने घटेको छ।
आइतबार धेरै समय तीन हजार माथि अडिने नेप्सेको प्रयास बजार बन्द हुँदा भने सफल हुन सकेन।
बजार बन्द हुँदा नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा आइपुगेको छ।
कारोबारको अवधिमा आइतबार नेप्से ३०१३.१७ विन्दुसम्म पुगेको थियो। अन्तरदिनको उच्च विन्दुको आधारमा यो एक वर्षयताकै उच्च हो।
२०८१ साउन ३१ गते नेप्से ३०३६ विन्दुसम्म पुगेको थियो। सो दिन नेप्से पछिल्लो उच्च विन्दु ३०००.८१ मा बन्द भएको थियो।
नेप्सेले अहिले तीन हजार विन्दुमा प्रतिरोध पाइरहेको देखिन्छ। लगानीकर्ताहरू मुनाफा सुरक्षित गर्नतर्फ पनि लागेका छन्।
यही कारण यस दिनको अन्तिम एक घण्टाको कारोबारमा सेयर बजार निरन्तर घटिरह्यो।
आइतबार २६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ प्रतिशतले बढेको हो। बिहीबार १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
आइतबार एक वर्षयताकै उच्च रकमको कारोबार भएको हो। यसअघि २०८१ साउन २८ गते २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन कारोबारमा आएका मध्ये चार समूहगत परिसूचकमा मात्रै सुधार भएको छ। व्यापारमूलक, विकास बैंक, उत्पादनमूलक र सामूहिक लगानी कोषका समूहगत परिसूचकमा मात्रै सुधार भयो। यी समूहमा ०.५४ प्रतिशतदेखि १.२९ प्रतिशतसम्म वृद्धि भयो।
यसदिन कारोबारमा आएका तीन सय २३ धितोपत्र तथा ऋणपत्रमध्ये ९४ वटाको मूल्य बढेका छन्। समता लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
त्यस्तै, सबैभन्दा धेरैले मूल्य घट्नेमा नारायणी डेभलपमेन्ट बैंक छ। बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.३४ प्रतिशतले घटेको छ।
यसदिन शिवम् सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको मात्रै एक अर्ब दुई करोड रूपैयाँको कारोबार भएको हो।
आज कारोबारमा आएका १३ वटा परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशतले घटेको छ।