साउन १२ धनगढी
साताको दोस्रो दिन पनि नेप्से परिसूचक घटेको छ। नेप्से पपिरसूचक २.०७ अंकले घटेको हो। सामान्य अंकको घटबढलाई बजार स्थिर रहेको मानिन्छ। यस आधारमा सोमबार बजार स्थिर देखिएको हो।
नेप्से तीन हजार विन्दुको प्रतिरोध परिक्षणमा रहेकोले बजारले निश्चित दिशा समात्न नसकेको हो।
बजार बन्द हुँदा नेप्से २.०७ अंकले २९६२ विन्दुमा आइपुगेको छ। कारोबार रकममा भने सोमबार उच्च गिरावट आएको छ।
सोमबार १९ अर्ब ३६ करोडको कारोबार भएको हो। यद्यपी याे कारोबार उच्च नै हो। आइतबार २६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको थियो।
यस दिन कारोबारमा आएका मध्ये तीन समूहगत परिसूचकमा मात्रै सुधार भएको छ। विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक समूहगत परिसूचकमा मात्रै सुधार भयो। यी समूहमा १.७१ प्रतिशतदेखि ३.०४ प्रतिशतसम्म वृद्धि भयो।
यसदिन कारोबारमा आएका तीन सय २१ धितोपत्र तथा ऋणपत्रमध्ये एक सय २० वटाको मूल्य बढेका छन्। समता लघुवित्त, ट्रेड टावर र सान्भि इनर्जीको सेयर मूल्य ९.५३ प्रतिशतदेखि ९.९९ प्रतिशत सम्म बढेको हो।
त्यस्तै, सबैभन्दा धेरैले मूल्य घट्नेमा विन्धवासिनी हाइड्रोपावर छ। कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४९ प्रतिशतले घटेको छ।
यसदिन शिवम सिमेन्ट र हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। शिवमको ९२ करोड र हिमालयन डिष्टिलरीको ७६ करोड रूपैयाँको कारोबार भएको हो।