गाजामा मानिसहरू भोक–भोकै मरिरहेका छन्, विश्व मौन छ !

साउन १४ धनगढी
१७ वर्षका अतेफ अबु खातेर गाजामा युद्ध सुरु हुनु अघि स्वस्थ थिए । अहिले उनी उत्तरी प्यालेस्टाइन इन्क्लेभको अस्पतालको सघन उपचार कक्षमा छन् । उनलाई सघन कुपोषण भएको छ ।

उनका बाबु ४८ वर्षे अइद अबु खातेरका अनुसार, ‘उनको शरीरले उपचार समेत लिन सकिरहेको छैन’ । उनको परिवार श्रीमती र पाँच केटाकेटीसहित गाजा सहरमा पाल मुनि बसिरहेका छ । उनले रुन्चे स्वरमा भने, ‘म असहाय भएँ । हाम्रो आयको स्रोत पनि युद्धले गुम्यो । खानेकुरा किनेर खान सकिँदैन । अब केही बाँकी रहेन ।’

गाजाका अस्पतालहरू इजरायली आक्रमणबाट घाइते भएका व्यक्तिहरूको उपचार गर्न सङ्घर्षरत छन् । हवाई हमला तथा खाद्यान्न लिएर फर्किँदै गरेकामाथि भएको गोलाबारीमा परेर हरेक दिन आउने घाइतेहरूको उपचार धान्न अस्पतालहरूलाई पनि धौ–धौ भएको छ ।

खाद्यान्न वितरण स्थल तथा सहायता वितरण केन्द्र वरपरको भीडमा जथाभाबी चलाइएको गोलीले धेरै मानिसको मृत्यु भइरहेको छ भने ठुलो सङ्ख्यामा दिनहुँ इजरायली गोली र बमबाट मानिसहरू मारिने र घाइते हुने भइरहेका छन् । अहिले गाजा क्षेत्रमा सक्रिय डाक्टरहरूका अनुसार अस्पताल भित्र भएका घाइते तथा बिरामीहरू भोकभोकै मरिरहेका छन् तर विश्व मौन छ ।

गाजमा कार्यरत डाक्टर अहमद अल–फरा भन्छन्, ‘अहिले गाजामा प्रत्येक व्यक्ति भोकमरीको सिकार छ । म आफै पनि त्यो खतराबाट मुक्त छैन ।’ उनी दक्षिणी गाजाको नास्सेर अस्पतालमा बालबालिकाको अस्पतालमा कार्यरत छन् । उनी थप्छन्, ‘म तपाईँसँग स्वास्थ्य अधिकारीका रूपमा कुरा गर्दैछु । यतिबेला म आफै पनि आफ्नो परिवारलाई खुवाउनका लागि पिठोको खोजीमा छु ।’

संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था विश्व खाद्य कार्यक्रमले यसै हफ्ता गाजाको खाद्य सङ्कट ‘नयाँ र डरलाग्दो स्तरमा पुगेको साथै एक तिहाइ गाजाबासी लगातार धेरै दिनदेखि भोकै रहेको’ जनाएको छ ।

डा. अल–फराले पछिल्ला दिनमा कुपोषणका कारण धेरै बालबालिकाको मृत्यु भइरहेको बताए । धेरै मानिस अब हिड्न समेत नसक्ने अवस्थामा रहेको डरलाग्दो अवस्थाबारे उनले बताए । यसअघि कुनै स्वास्थ्य समस्या नभएका धेरै बालबालिकाहरू अहिले अस्पताल भर्ना हुन थालिरहेका छन् ।

उनले एकजना बालक सिवार वार्वाकको उदाहरण दिए । वार्वाक जन्मँदा स्वस्थ थिए । अहिले ११ महिनाको हुँदा उनको तौल करिब २० पाउन्ड हुनुपर्नेमा जम्मा ९ पाउन्ड पनि पुग्न सकेको छैन ।

२१ महिना अघि हमासले इजरायलमा आक्रमण गरे लगत्तै सुरु भएको ध्वंसात्मक युद्धले गाजामा खानेकुरा र पिउने पानीको डरलाग्दो अभाव सिर्जना गराएको छ । यस्तो अभावबिच गाजाबासी नारकीय जीवन बिताउन बाध्य छन् । त्यस्तो जीवनलाई अमेरिकामा निर्मित बम र गोलीले झनै नारकीय बनाउन भूमिका खेल्ने गरेको छ ।

खासगरी किशोर–किशोरी, वृद्ध तथा बालबालिका यसको सबै भन्दा धेरै नकारात्मक प्रभाव झेली रहेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले यसै महिना ४० जना भोकले मरेको जनाएको छ । जसमा १६ जना बालबालिका थिए । युद्ध सुरु भए यता एक सय ११ जना भोककै कारण मारिएका छन्, जसमा ८१ जना बालबालिका थिए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरू तथा स्वतन्त्र सहयोग संस्थाहरू युद्ध अवधिभर इजरायलले गाजामा खाद्यान्न प्रवेशमै रोक लगाएको बताउँछन् । ती संस्थाहरूका अनुसार गाजामा रहेका २० लाख मानिस भोकमरीमाको डिलमा उभिएको चेतावनी दिइरहेका छन् । तर, विश्वको कुनै पनि मुलुकले मानवीय साहायताका लागि हस्तक्षेप गर्न सकेको छैन ।

आँखा भित्र गडेका तथा हाडछाला मात्रै बाँकी भएका बालबालिकाहरू अस्पतालको बेडमा रोइरहेका छन् । कसैलाई उनीहरूका बाबुआमाले हेरचाह गर्दैछन् । छाती र काँधका हाडहरू धारिला ब्लेडजस्ता छन् । हातखुट्टा कमजोर लट्ठी जस्ता देखिन्छन् । यस्ता डरलाग्दा दृश्यहरू इजरायल र इजिप्टको सिमानाभन्दा केही माइल टाढासम्मै अभाव र भोकमरीको भयावह सङ्केत दिइरहेका छन् ।

१८ महिनाको बालक मोहम्मद जाकारिया अल–मुतावक आफ्नी आमा र दाजुसँग गाजाको किनारामा बस्छन् । मोहम्मदकी आमा हेदाया अल–मुतावक ३१ वर्षकी छिन । उनले आफ्ना पति गत अक्टोबरमा खानेकुरा खोज्न जाँदा इजरायली आक्रमणमा मारिएको बताइन ।

उनले फोनमा भनिन, ‘म गल्लीमा खाना खोज्दै हिँड्छु ।’ उनको आवाज असाध्यै मधुरो थियो । सहायता दानमा पाइने खानेकुराले उनको १८ महिने छोरा र उसको ३ वर्षे दाजु जोउदलाई पुग्दैन । उनीहरू भोकै हुन्छन् । उनी थप्छिन्, ‘ठुलो मान्छे भएकाले म त भोक सहन सक्छु । तर मेरा बच्चाहरू भोक खट्नै सक्दैनन् ।’

उनका अनुसार मोहम्मद स्वस्थ जन्मेका थिए । ‘तर, अहिले उसलाई देख्नासाथ मलाई रुन मन लाग्छ’, उनी भन्छिन् । ‘हामी हरेक दिन भोकै सुत्न जान्छौँ । ब्युँझिन साथ कसरी खानेकुरा फेला पार्ने भन्ने सोच्नुपर्ने हुन्छ ।’ उनले भनिन, ‘दुध र बच्चाको डाइपर त पाइँदैन ।’

अहिले मोहम्मदलाई डाक्टरहरूले डरलाग्दो कुपोषण भइसकेको भनेका छन् । तर, उनीहरूले केही गर्न नसक्ने बताए । उनका अनुसार डाक्टरहरूले मोहम्मदको उपचार ‘खाना र पानी’ ले मात्रै गर्न सक्ने बताएका छन् । तर, गाजाको यो शरणार्थी शिविरमा त्यसैको अभाव छ ।

गत मंगलबार दक्षिण गाजाको खान युनुस अस्पतालमा अर्का बालक याहिया अल–नज्जर भर्खरै कुपोषणले बिते । मृत्यु हुँदा उनको उमेर जम्मा चार महिना थियो । याहिया जन्मिदा कुनै स्वास्थ्य समस्या थिएन । तर, अभावका कारण उनलाई समस्या देखिँदै गयो ।

उनको परिवार अहिले सिरक चारवटा खाँबामा टाँगेर बनाइएको सानो पाल मुनि बस्छ । याहियाकी आमाले दाल र भात आवश्यक मात्रामा खान नपाउँदा उनले बच्चालाई स्तनपान गराउने क्षमता भएन । यस अघिका तीन वटा बच्चा हुर्काउँदा उनलाई कुनै समस्या थिएन । उनको परिवारले ‘बेबी फर्मुला’ पनि खुवाउन सकेन ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका याहियालाई डाक्टरहरूले पनि केही सहयोग गर्न सकेनन् । बच्चाको तौल अस्वाभाविक कम भइसकेको थियो । लगत्तै बच्चाको मृत्यु भयो । गत मार्चको मध्यमा दुई महिनाको युद्धविराम सकिए लगत्तै इजरायलले गाजा क्षेत्रमा सैन्य कारबाही मात्रै व्यापक बनाएन ।

८० दिनका लागि खाद्यान्न आयत पनि रोकिदियो । हमासलाई दबाब दिएर आत्मसमर्पण गराउन चालिएको भन्ने उक्त कदमले गाजामा भयावह भोकमरी सिर्जना गराएको छ तर विश्वभरका नेताहरू मौन छन् ।

अहिले गाजामा दुई तरिकाले मात्रै सहायता पुग्छ । पहिलो, असाध्यै आलोचित प्रणाली हो, जसमा अमेरिकी ठेकेदारहरुले गाजा मानवीय प्रतिष्ठान (गाजा ह्युमनाटेरियन फाउन्डेसन) भनिने इजरायली नीजि समूहको नाममा सहायता बाँड्छन । यसले थोरै ठाउँलाई मात्र लक्षित गर्छ ।

अर्को स्वतन्त्र अन्तराष्ट्रिय संस्थाहरुले पठाउने सहयोग हो । यी दुबै प्रणाली त्यहाँको अन्योल र हिंसाको चपेटामा परेका छन् । महिनौँदेखिको युद्ध, विस्थापन र कानुन विहिनता माझ वितरण प्रणाली पनि भद्रगोल छ । धेरै जसो इजरायली सेनाको गोलाबारी इजरायल आफैले सघाएको खाद्यान्न वितरण केन्द्रहरुमा हुने गरेको छ । मानिस खाद्यान्न लिन आउँछन्, इजरायली गोली खाएर मारिन्छन् । भोकमरीको सङ्कट मानवीय असफलताकै कारण सिर्जना भएको छ ।

यसमा संलग्न सबै पक्ष एक–अर्कोलाई आरोप लगाइरहेका छन् । तर, यसको मुख्य जिम्मेवार इजरायल र अमेरिका नै हो । इजरायलले हमासलाई खाद्यान्नका ट्रक लुटपाट गरेको तथा वितरण केन्द्रमा अवरोध सृजना गरेर भोकमरीको भाष्य सिर्जना गरेको आरोप लगाइ रहेको छ ।

तर, संयुक्त राष्ट्रसंघलगायत अन्य मानवीय सहायता संस्थाहरू भने गाजाको सीमानाम रहेका सयौं ट्रक खाद्यान्न सहायतालाई इजरायले नै रोकेका कारण गाजामा भोकमरी बढ्दै गएको बताउँछन् । उनीहरूका अनुसार अहिले एउटै समाधान भनेको गाजामा व्यापक मात्रामा खाद्यान्न आपूर्ति बढाउनु हो । तर, इजरायलले त्यसो हुन दिएको छैन ।

इजरायलले गत हप्ता भोकमरीले ग्रस्त बालबालिकाको तस्बिरहरू सार्वजनिक भए लगत्तै त्यसको जवाफमा सीमानामा रहेका खाद्यान्नका बोरा तथा हमासका सेनाले भूमिगत सुरुङ भित्र बसेर खाना र ताजा फलफूल खाइरहेको नक्कली फुटेज सार्वजनिक गरेको छ । इजरायली सेनाले भिडियो रेकर्ड गरिएको स्थान र समयबारे भने खुलाउन अस्वीकार गरेको छ ।

इजरायल र हमासका नेताहरू मध्यस्थकर्ताहरू मार्फत अर्को अस्थायी युद्धविरामका लागि सुस्त गतिको छलफलमा छन् । युद्धबिरामले तत्काललाई राहत ल्याउन सक्छ । साथै हमासले इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा उसले राखेका बन्धकहरूलाई रिहा गर्न सक्छ ।

डाक्टरहरूका अनुसार बाल्यकालमा भएको कुपोषणको दीर्घकालीन असर हुन्छ । यसले वृद्धि, बौद्धिक क्षमता तथा भावनात्मक विकासमा समेत असर गर्छ । नास्सेर मेडिकल कम्प्लेक्सको नर्सिङ विभागका प्रमुख मोहम्मद सक्रका अनुसार गत सोमबार साँझमा मात्रै २५ जना महिला तथा १० जना बालक नशामा लगाइने ग्लुकोजको झोल खोज्न आएका थिए ।

त्यस्तो उपचारले केही बेर राहत दिए पनि केही बेरमै झन् धेरै भोक लाग्ने अवस्था आउँछ । उनका अनुसार, ‘केही मानिस भोकले काँप्दै आउने गरेका छन् ।’ तर, अस्पतालमा ग्लुकोजको न्यून आपूर्ति मात्रै छ । ‘अस्पतालमा डाक्टरहरूको टोली आफै भोकले लखतरान छ । हिजो त अस्पतालका केही कर्मचारीले केवल १० चम्चा मात्रै खाना खाए ।’, उनी भन्छन् ।

गाजा सहरको अल–शिफा अस्पतालले गत ३६ घण्टामा कुपोषणकै कारण तीन जनाको मृत्यु भएको जनाएको छ । अस्पतालका निर्देश डा. मोहम्मद अबु साल्मियाले अन्तर्वार्तामा जनाए अनुसार मृत्यु हुनेमा एउटा पाँच महिनाको शिशु पनि छन् । साभार रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply