नुवाकोटबाट बिक्रीका लागि चितवन ल्याइएको टमाटरमा अत्यधिक विषादी

साउन १६ धनगढी
नुवाकोटबाट बिक्रीका लागि चितवन ल्याइएको गोलभेडामा अत्यधिक विषादी भेटिएको छ।

बिक्रीका लागि भरतपुर–२ क्षेत्रपुरस्थित फलफूल तथा तरकारी थोक व्यवसायी संघको तरकारी बजारमा ल्याइएको गोलभेडामा विषादीको परिमाण उच्च देखिएको हो।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले परीक्षणका क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पर्नेगरी विषादीको मात्रा भेटिएपछि नुवाकोटबाट आएको गोलभेडा नष्ट गरिएको जानकारी दिए।

संघ परिसरमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालामा तरकारीका नमूनाहरूको परीक्षण गरिन्छ।

‘नियमित परीक्षण क्रममा नुवाकोटबाट ल्याइएको गोलभेडामा विषादीको मात्रा अत्यधिक देखिएपछि २० क्रेट (करिब ४ सय किलो) गोलभेडा नष्ट गरिएको छ,’ कँडेलले सेतोपाटीसँग भने, ‘मानव स्वास्थ्यमा असर पर्नेगरी विषादीको प्रयोग गरिएको छ कि भनेर दैनिक रूपमा परीक्षण हुने गरेको छ।’

उनका अनुसार तरकारीमा ‘अर्गानो फस्फेट’ र ‘कार्वानेट’को मात्रा परीक्षण गर्ने गरिएको छ।

नुवाकोटबाट ल्याइएको गोलभेडामा अर्गानो फस्फेटको मात्रा ९१.८९ प्रतिशत भेटिएको कँडेलले बताए।

आर्गानो फस्फेटको मात्रा ३५ प्रतिशतसम्म हुनुलाई सामान्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा केही दिन राखेर पुनः परीक्षण गरिन्छ। ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा देखिएमा नष्ट गर्ने गरिएको कँडेलले बताए।

अहिले गोलभेडा उत्पादनको सिजन होइन। किसानहरूले बेसिजनमा टनेलभित्र गोलभेडा फलाउँछन्। बेसिजनको गोलभेडा चितवनमा कम उत्पादन हुने भएकाले पहाडी जिल्लाहरूबाट बिक्रीका लागि ल्याउने गरिएको छ।

‘लामो समयदेखि व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानहरूमा समस्या देखिएको छैन। केही किसानले छोटो समयमा धेरै कमाउन खोज्दा लापरबाही गरेको देखिन्छ,’ कँडेल भन्छन्, ‘हामीले प्रयोगशालाको क्षमताले भ्याएसम्म नमूना परीक्षण गरेर नियमन गर्दै आएका छौं।’

फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्व अध्यक्ष थीरप्रसाद धितालले विषादीको परिमाण उच्च देखिएपछि नुवाकोटका सम्बन्धित किसानलाई सचेत गराइएको बताए।

उनका अनुसार अचेल चितवनको बजारमा धादिङ, नुवाकोट लगायतका पहाडी जिल्लाबाट गोलभेडा आउँछ। अहिले चितवनको बजारमा काठमाडौंबाट पनि गोलभेडा आइरहेको धितालले बताए।

‘नुवाकोटबाट ल्याइएको गोलभेडामा समस्या देखियो। समस्या देखिएकोजति गोलभेडा नष्ट गरिएको छ,’ धितालले भने।

तरकारी बजारका एक व्यवसायीका अनुसार नुवाकोटबाट क्षेत्रपुरस्थित तरकारी बजारमा दैनिक ४–५ ट्रक गोलभेडा आइरहेको दाबी गरे।

‘करिब एक महिनादेखि नुवाकोटबाट गोलभेडा आइरहेको छ। एउटा पसलको नमूना परीक्षण गर्दा विषादीको मात्रा उच्च देखिएपछि त्यो पसलमा रहेको २० क्रेटमात्रै नष्ट गरियो। अरू लुकाइहाले। २० क्रेट बाहेकको सबै गोलभेडा बजारमा पुगेको छ,’ ती व्यवसायीले सेतोपाटीसँग भने।

पहाडबाट गोलभेडा ल्याउने ट्रकमा १ सय ५० क्रेटजति गोलभेडा अट्छ। एक क्रेटमा २२/२३ किलो गोलभेडा हुन्छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख कँडेलले परीक्षणको क्रममा मानव स्वास्थ्यलाई असर पर्ने देखिएमा संघका पदाधिकारीहरूको संलग्नतामा भेटिएको जति सबै तरकारी नष्ट गर्ने गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply