भदौ ५ धनगढी
यस वर्षको असामयिक खडेरी र ढिलो वर्षाका कारण पर्सा जिल्लामा धान उत्पादनमा ठूलाे गिरावट आउने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा धान उत्पादन गत वर्षको तुलनामा १० देखि २० प्रतिशतसम्म घट्न सक्ने देखिएको हो।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार यस वर्ष लामो समयसम्म पानी नपरी खेतहरू सुक्खाग्रस्त बनेका थिए। खेतमा पानीको अभावका कारण समयमा रोपाइँ हुन सकेन। ढिलो गरी मात्र धान रोपाइँ गरिएकोले छिपिएको रोपोले उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने देखिएको उनको भनाइ छ।
“धान खेतीमा निरन्तर पानीको आवश्यकता हुन्छ। तर यसपालि खडेरीका कारण खेतमा चिरा परे। ढिलो रोपाइँले उत्पादनमा असर गर्ने मात्र नभई ब्लाष्ट रोगको संक्रमण फैलिने सम्भावना पनि उच्च छ,” थापाले भने।
पर्सामा कुल ३७ हजार सात सय ३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये हालसम्म ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। तर कृषि विज्ञहरूका अनुसार ढिलो रोपाइँ र पानीको कमीका कारण खेतमा धान उत्पादन क्षमता घट्ने पक्का देखिन्छ।
गत वर्ष पर्सामा करिब दुई लाख ३३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर यस वर्ष खडेरी र ढिलो रोपाइँका कारण त्यति धान उत्पादन नहुने निश्चित देखिएको कृषि ज्ञान केन्द्रको आकलन छ।
धान खेतीमा देखिएको संकटले किसानहरूलाई थप आर्थिक बोझ पर्ने अनुमान गरिएको छ। वर्षामा ढिलाइ मात्र नभई रोग–कीरा संक्रमणले समेत थप समस्या ल्याउने सम्भावना छ। यसले केवल किसानको आम्दानी मात्र घटाउने होइन, मधेस प्रदेशकै खाद्यान्न सुरक्षामा पनि असर पार्ने चिन्ता व्यक्त गरिएको छ।
कृषि विज्ञहरूले भविष्यमा यस्तो समस्या कम गर्न कृत्रिम सिंचाइ प्रणाली विस्तार, समयमै मल–बीउ आपूर्ति र आधुनिक खेती प्रणालीमा किसानलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।