समाजवादी यात्राको आधार उत्पादन : अध्यक्ष प्रचण्ड

भदौ ०८ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन सङ्घर्ष हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो । उत्पादन सङ्घर्षमा सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।’ अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टी प्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ। अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ।’

उनले हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्घर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए । अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए ।

सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाका विरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाई लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र दलाल, नोकरशाही र बिचौलियासँगै रहन नसक्ने बताए । ‘दलाल, नोकर शाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन। तेस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रूपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply