भदौ २१ धनगढी
मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा आज अनन्त पर्व मनाइँदै छ । चन्द्रमासको भदौ शुक्ल चतुर्दशी तिथिका दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल आज अनन्त पर्व मनाइरहेका छन् ।
पर्वमा प्रतिपालक मानिने भगवान् विष्णुकै रुप मानिने अनन्त भगवान्को पूजा आराधना गरेर प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्व विशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सुत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । उक्त अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।
एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्षको चतुर्दशीका दिन बिहान अनन्त भगवान्को पूजा आराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्त डोरा’ बाँध्ने परम्परा छ । ‘अनन्त डोरा’ ले आपतविपतबाट रक्षा, आरोग्य र सुख समृद्घि प्राप्तहुने मैथिल जनविश्वास छ । अनन्त डोरा बाँधिने कार्य चतुर्दशी तिथिको भोग रहेसम्म गर्न सकिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पं महेशकुमार झा बताउँछन् ।
आजको चतुर्दशी तिथि सकिनासाथ सुरु हुने पूर्णिमा तिथिमा हिन्दू परम्पराका सहकाल (सकाल) का देवता इन्द्रको पूजा आराधना गर्ने चलन छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ ।
इन्द्र पूजनोत्सव बस्तीबस्तीमा इन्द्रका मूर्ति (प्रतिमा) स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरेर मनाइने तयारी छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा र सो दिनको उत्सवलाई इन्द्र्रजात्रा भनिन्छ