काठमाडौँ, भदौ २२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध नवपुस्ताको आक्रोशलाई स्वाभाविक ठहर गर्दै आन्दोलन अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै Gen Z पुस्ताले भोलि आयोजना गर्न लागेको प्रदर्शनलाई जनताको असली आवाजको प्रतिबिम्ब भन्दै समर्थन जनाउनुभएको हो। उहाँले भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्रमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्नु अस्वीकार्य हुने टिप्पणी गर्नुभयो।
“सामाजिक सञ्जालमाथि गरिएको रोक जनताको स्वतन्त्रतामाथिको प्रहार हो। युवाहरूले देखाएको आक्रोश स्वाभाविक हो। सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्,” प्रचण्डले आफ्नो स्टाटसमार्फत चेतावनी दिनुभएको छ।
अध्यक्ष प्रचण्डका अनुसार भ्रष्टाचारविरुद्धको संघर्ष केवल कुनै दल वा समूहको मात्र नभई सम्पूर्ण नागरिकको साझा एजेन्डा हो। उहाँले विशेषतः नवपुस्ताले उठाएको आवाजलाई उपेक्षा गर्न नसकिने भन्दै यसलाई सकारात्मक रूपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
यससँगै उहाँले माओवादी केन्द्रले जनतासँग मिलेर भ्रष्टाचारविरुद्धको आन्दोलनलाई अझ संगठित र प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो।
उता, भोलि काठमाडौंसहित देशका विभिन्न स्थानमा Gen Z पुस्ताले आयोजना गरेको प्रदर्शनमा विद्यार्थी, सामाजिक अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको समर्थनका कारण सडकमा ठूलो संख्यामा युवाको उपस्थिति रहने अनुमान गरिएको छ।