भदौ ३१ धनगढी
सुदूरपश्चिम प्रदेशमा जापानिज इन्सेफलाईटिस रोगको संक्रमण बढ्दो क्रममा रहेको छ । हाल सम्म यस प्रदेशमा जापानिज इन्सेफलाईटिसका बिरामीको संख्या ११ जना रहेको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कमा उल्लेख छ । रोगको संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ भने सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा १ ,कंचनपुरमा १ र कैलाली जिल्लामा ९ जना बिरामी फेला परेको तथ्याङ्क छ ।
कैलालीको जानकी गाउँपालिकामा २, धनगढी उपमहानगरपालिकामा २, लम्कीचुहा नगरपालिकामा २, घोडाघोडी नगरपालिका १ ,गोदावरी नगरपालिका १ र चुरे गाउपालिकामा १ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकार मीनबहादुर धामीले निशाना न्युजलाई जानकारी दिए ।
यो रोगबाट जानकी गाउँपालिका–२ का ७६ बर्षीय पुरुष र चुरे गाउँपालिका–६ का ३४ बर्षीया महिलाको मृत्यु भइसकेको उनको भनाइ छ । सुदूरपश्चिममा मात्र नभई देशै भरि जापानिज इन्सेफलाईटिसका बिरामीको संख्या १३४ पुगेको उनले बताए । एक हजार एक सय ४३ जना शंकास्पद बिरामी र २६ जनाको मृत्यु भएको उनले बताए ।
सन् २०२५ को २८ अगस्त सम्ममा यो रोगका बिरामी फेला परेका हुन् । उनले भने ‘रोग बढ्दो क्रममा छ । बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो । हाँस, कुखुरा,सँगुर बँगुर जस्ता घरपालुवा चरा चुरुङ्गी जनावरहरुलाई व्यवस्थित ढँगले घरदेखि टाढा खोरमा राखेर सुरिक्षत तरिकाले पाल्ने,घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाउनु पर्छ ।’
घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाँउमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरि दिनु पर्ने उनले बताए । त्यस्तै लामखुट्टे भगाउने धुप वा महलम प्रयोग र सधै झुल भित्र सुत्ने बानीले यो रोगबाट बच्न सकिने उनले बताए । ‘रोगका लक्षण भनेको बेस्सरी टाउको दुख्नु,उच्च ज्वरो आउनु बेहोस हुनु, घाटी कडा हुनु,कम्पन आउनु र पक्षघात हुने गर्दछ’ उनले भने ‘समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्छ ।’ रोगबाट बच्नका लागि आफ्ना बालबालिकालाई १२ महिनामा जे.ई. खोप लगाउनु र यो खोप लिन छुटेको छ भने ५ बर्षको उमेरसम्म पनि जे.ई. खोप लगाउन सकिने उनले बताए ।