असोज १ धनगढी
जेनजी प्रदर्शनमा पोखरामा प्रहरी उपरीक्षक(एसपी) को बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी हुन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए । तर, प्रहरीले अहिलेसम्म त्यसबारे औपचारिक जानकारी दिएको छैन ।
जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको कास्कीका एसपी श्यामबावु ओलियाले दाबी गरे । उनले भने, ‘हामीले अपराध नियन्त्रणमा आफ्नो दैनिक काम सुरु गरेका छौँ तर, अन्य विषयमा कोही पनि पक्राउ परेका छैनन् ।’