असोज १०
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालय , प्रदेश सभा र जिल्ला प्रशासन कार्यालयको अवलोकन निरीक्षण गरेका छन् ।
गत २४ भदौमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा क्षेत्रमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो ।
बिहीबार ती क्षेत्रको अवलोकन गर्दै प्रदेश प्रमुख मियाँले सेवा प्रवाहबारे चासो राखेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले प्रदेश प्रमुखलाई आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयहरू र त्यसले सेवा प्रवाहमा भएका समस्याहरू बारे जानकारी गराएका थिए ।
उनले नागरिकता लगायतका महत्त्वपूर्ण कामहरू सुचारु भइसकेको भन्दै राहदानी लगायतका कामहरू पनि चाडै सुरु गर्ने बताए ।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास,आर्थिक मामिला मन्त्रालय , मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरूमा पनि मन्त्रालयका सचिव तथा कर्मचारीहरूले क्षतिको विवरण प्रस्तुत गरेका थिए ।
भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालयमा कार्यालय सञ्चालन गर्नै नसकिने गरी क्षति भएको प्रदेश प्रमुखलाई ती मन्त्रालयका कर्मचारीहरूले जानकारी गराएका थिए
प्रदेश सभामा सभामुख भीमबहादुर भण्डारीसँग समस्या समाधानका लागि भइरहेका प्रयासबारे संक्षिप्त छलफल भएको थियो ।
प्रदेश प्रमुख मियाँले आन्दोलनका क्रममा पनि आफ्नो कार्यालय जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्र सेवक कर्मचारीहरूप्रति सम्मान व्यक्त गर्दै चाँडै सबै सेवा सुरु गर्नेगरि प्रबन्ध मिलाउनु पर्ने बताएका थिए ।