असोज १४
दसैंको लागि डडेल्धुराबाट यस वर्ष दुईसय बढी खसीबोका बिक्री गर्न महेन्द्रनगर ल्याइएका छन् । डडेल्धुराको परशुराम नगरपालिका –८ का ११ जना स्थानीयहरूले दुईसय बढी खसीबोका बिक्रीका लागि महेन्द्रनगरमा ल्याएका हुन् ।
परशुराम नगरपालिका –८ जोगबुडाका जयबहादुर बोहरा खसीबोकासहित दुई दिनको पैदल यात्रागरी शनिवार महेन्द्रनगर बजार पुगेका छन। परशुरामस्थित जोगबुडाबाट आफुले पालेका र अन्तबाट किनेकासहित उनले ४० खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका छन । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँको लागि उनले खसीबोका बिक्री गर्न महेन्द्रनगर पुगेको बताए ।
विगत १५ वर्षदेखि खसीबोकाको कारोबार गर्दैआएका उनले यस वर्ष भने सोचेअनुरूप दररेट र कारोबार नहुने भन्दै चिन्तित छन् । विगत २–३ वर्षयता खसीबोकाको कारोबार घट्दोक्रममा रहेको उनले बताए ।
बोहरासँगै परशुराम नगरपालिका –८ का गणेश जाग्रीले पनि यस वर्ष ३७ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका छन । सस्तो मूल्यमै खसीबोका दिनुपरेको उनले बताए यसैगरी परशुराम नगरपालिका –८ सानखोलाका सुरे टमाटाले पनि यस वर्ष ३५ खसीबोका बिक्रीका लागि महेन्द्रनगर बजारमा ल्याएका छन ।
यहाँ खसीबोका राख्न उचित स्थान नहुँदा सडक छेउ, खुला चौरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए। सडकछेउमै रातदिन बसेर खसीबोका राखेका उनीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् । ३६ खसीबोका बिक्रीका लागि ल्याउनुभएका डम्बर बोहराले प्रतिकेजी ५ सयदेखि ६ सयका दरले बिक्री गर्नुपरेको बताए ।
भारतबाट ल्याएका खसीबोका कम मूल्यमा बिक्री गर्न थालेपछि आफूहरूले पनि यस वर्ष कम दाममा बिक्री गर्नुपरेको उनले बताए ।