असोज १६
दसैँ मुलतः नेपालमा मनाइने चाड हो । तर शरद ऋतुको यही समयमा यस्तै प्रकृतिको चाड भने दक्षिण एसियाका विभिन्न भूभागमा केही पृथकतासाथ मनाउने प्रचलन छ । नेपालका साथै भारतको सिक्किम, बंगाल, असम तथा भुटान, म्यानमार र श्रीलंकामा पनि दसैँ मान्नेहरूको ठुलो संख्या छ ।
त्यसो त नेपाल भित्रै पनि दसैँ मनाउनेहरूमा विविधता भने अवश्य भेटिन्छ । समुदाय, क्षेत्र तथा संस्कृति अनुरुप विभिन्न स्वरूपमा दसैँ मान्ने अभ्यास पाउन सकिन्छ । बसाइसराइँका कारण संसारभर पुगेका नेपालीहरू दसैँलाई प्रमुख चाडका रूपमा मान्ने गर्छन् । बदलिँदो समय अनुसार दसैँको महत्त्व र स्वरूपमा ठुलो परिवर्तन आएको छ ।
दसैँको सम्बन्ध गोरखाली राज्य विस्तार तथा सांस्कृतिक प्रभुत्वको फैलावटसँग रहेको व्याख्या गर्नेहरूको संख्या पनि ठुलै मात्रामा रहेको छ । यी तमाम सन्दर्भहरूका बाबजुद आज पनि विविध कारण दसैँ नेपालीहरूको मुख्य चाडका रूपमा कायमै छ ।
दसैँ र यसको आगमनको कथा धेरै लामो छ । खास गरी सोह्र श्राद्धको अवधि सकिएर आउने औँसीपश्चात् दसैँको पर्व औपचारिक रूपमा सुरु हुन्छ । शाक्त/शैव परम्परा अन्तर्गत शक्तिस्वरुप दुर्गाका विभिन्न स्वरुपको आराधना गर्दै सुरु हुने यस चाडमा केही दिनहरू झनै महत्त्वपूर्ण मानिन्छन् ।
यसमा पहिलो दिन घट्स्थापना, सातौँ दिन फुलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी तथा दशौँ दिन विजया दशमी अर्थात वडादसैँका रूपमा मानिन्छ । यी दस दिन दुर्गाका फरक–फरक स्वरुपको पुजा हुने गर्छ ।
दशमीका दिन दुर्गाको पुजालगायत प्रचलित विधि पुरा गरिसकेपछि दही, चामल र रातो रंगमिश्रित टीका वा सेतो टीकासहित घटस्थापनाको समयमा विधिपूर्वक राखिएका जमराहरूसहित आफूभन्दा ठुलाबढाको हातबाट आशीर्वाद ग्रहण गर्ने चलन छ ।
आशीर्वादमा विभिन्न प्रकारका सदिच्छा तथा शुभ भाव र कामना प्रदान व्यक्त गर्ने गरिन्छ । साधारणतयाः दुई वटा श्लोकहरू प्रचलनमा रहेको पाइन्छ । आउनुस जानौँ श्लोकको अर्थः
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
अर्थः
ॐ जयन्ती (सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी), मङ्गला (आफ्ना भक्तको जन्म–मरणको बन्धन हटाउने मङ्गलमयी), काली (प्रलयकालमा सम्पूर्ण सृष्टिलाई आफूमा समाहित गर्ने), भद्रकाली (आफ्ना भक्तहरूलाई दिनका लागि भद्र, सुख र मङ्गल स्वीकार गर्ने), कपालिनी (हातमा कपाल तथा गलामा मुण्डमाला भिरेकी), दुर्गा (अष्टांगयोग, कर्म र उपासनाबाट मात्र प्राप्त हुने दुःसाध्य), क्षमा (भक्तहरूलाई क्षमा दिने करुणामयी), धात्री (सम्पुर्ण प्रपञ्च धारण गर्ने), स्वाहा (स्वाहस्वरुप यज्ञभाग ग्रहण गर्दै देवताहरूको पोषण गर्ने) तथा स्वधा (श्राद्ध र तर्पण स्वीकर गर्दै पितृहरूको पोषण गर्ने) लगायत नामले प्रसिद्ध जगदम्बिकालाई मेरो नमस्कार छ ।
यो श्लोक दुर्गा सप्तशति (चण्डि) अन्तर्गतको अर्गला स्तोत्रबाट लिइएको हो । मार्कण्डेय पुराण अन्तर्गत सार्वणिक मन्वन्तरको देवी महात्म्यमा रहेको यस श्लोक लगायत अन्य श्लोकहरू अर्गला अर्थात मूल पाठमा प्रवेश गर्ने ताल्चा खोल्ने अर्थमा लिइन्छ ।
यो श्लोक पाठ बेगर भएको मूल पाठ अर्थहीन हुन्छ भन्ने मान्यता छ । यस श्लोकलाई मार्कण्डेयले बाचन गरेको भनिएको छ । यो श्लोक स्त्रीहरूलाई आशीर्वाद दिँदा प्रयोग गर्ने गरेको पाइन्छ ।
आयुद्र्रोणसुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्यर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थः
द्रोणाचार्यका छोरा अर्थात अस्वत्थामाको जस्तो आयु होस । दशरथको जस्तै पुण्य/श्रेय होस । रामकै जसरी शत्रु विनाश गर्न सक्ने हुनु । राजा नहुष जस्तै ऐश्वर्य मिलोस । वायुको जस्तै गति होस । दुर्योधनको जस्तो मान प्रतिष्ठा मिलोस् । शान्तनुपुत्र भीष्म जस्तै सौर्ययुक्त र पराक्रमी हुनु । हलो भिरेर हिड्ने अर्थात् बलरामको जस्तो बल मिलोस् । कुन्तीका छोरा युधिष्ठिर जस्तै सत्यनिष्ठा होस् । विदुरको जस्तो बुद्धि, विवेक होस् । नारायण भगवानको जस्तै कीर्ति फैलियोस् ।
नेपाली समाजमा प्रयोगमा रहेको यो श्लोक खासमा लोक प्रयोगबाट विस्तारित भएको पाइन्छ । मूलतः राजपरिवारसँग सम्बन्धित पात्रहरूलाई जोडेर तयार भएको यो श्लोकको प्रयोग राजपरिवारमा दसैँको टीका लगाउँदा राजपुरोहितहरूले बाचन गर्ने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ ।
यद्यपि यसबारे ठोस प्रमाण भने पाउन अप्ठेरो छ । मूलतः नेपाली समाजमा चलेको यो श्लोक पुरुषहरूलाई टीका लगाउँदा आशीर्वादको रूपमा बाचन गर्ने गरिन्छ ।