रिलिशा राजवंशी, असोज १९
बाँके – दशमीको उल्लासमय बिहान, बाँकेको राप्ती सोनारी गाउँपालिका–५ विनौना र मधुवा जोड्ने पुलमा खुसीको क्षण क्षणमै त्रासदीमा बदलियो। टिकटक भिडियो खिच्दै गरेकी २४ वर्षीया सपना थारू मोटरसाइकलको ठक्करबाट अकालमा जीवन गुमाउन पुगिन्।
स्थानीय युवती सपना दशमीको टीकाको रमाइलो दिन साथीहरूसँग पुलमा पुगेर भिडियो खिच्दै थिइन्। त्यो खुसीको दृश्य एक क्षणमै कालो अध्यायमा परिणत भयो, जब विपरीत दिशाबाट तीव्र गतिमा आएको भे ४–१७४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दियो।
ठक्करपछि गम्भीर घाइते भएकी सपनालाई तत्काल उद्धार गरी नेपालगन्ज अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
सपना सामाजिक सञ्जालमा निकै लोकप्रिय थिइन् — उनका टिकटक भिडियोहरूमा नृत्य, हाँसो र उत्साह मिसिएको हुन्थ्यो। केही समयमै उनी युवामाझ ‘प्रेरणादायी र खुसी बाँड्ने अनुहार’को रूपमा परिचित भएकी थिइन्। परिवारका अनुसार, उनले पछिल्लो समय सामाजिक सन्देशसमेत टिकटकमार्फत प्रवाह गर्न थालेकी थिइन्।
तर अब त्यो हाँसो, त्यो ऊर्जा र त्यो ‘सपना’ सधैंका लागि मेटिएको छ। गाउँ शोकमग्न छ। आमाबाबु छोरीको निर्जीव शरीर अँगालो हालेर रुंदा सारा गाउँ रोइरहेको छ।
स्थानीय युवाहरू सामाजिक सञ्जालमा लेखिरहेका छन् —सपना, तिमी हाँस्दै बित्थ्यौ, हामीलाई रुवाएर गयौ। त्यो पुल अब हाम्रो रमाइलो होइन, तिम्रो सम्झनाको प्रतीक बनेको छ।
दशमीको रौनक भित्रै भएको यो हृदयविदारक घटना सबैका मनमा गहिरो घाउ बनेको छ।
सपना थारू — एक मुस्कानको नाम, अब सम्झनामा मात्र