असोज २७
रौतहटमा जमेको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।
गौर नगरपालिकामा-१ मा बाढी आएर जमेको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको हो।
राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र मौसमी कुमारी बैठाको मृत्यु भएको हो।
राजदेवी-८ लक्ष्मीपुर टोलबाट उनीहरू सहित ७ जना बालिका घाँस काट्न गौर तर्फ जाँदै थिए। गौर नगरपालिका-१ कानुपट्टी स्थित भित्री सडक खण्डमा बाटोको खाल्डोमा जमेको पानी तर्ने क्रममा बिहान पौने ११ बजेतिर उनीहरू खाल्डोमा खसेका थिए।
४ जना तैरिएर बाहिर आउन सफल भएको भएपनि तीन जना बेपत्ता भएका थिए।
भन्सार सुरक्षा गार्ड गौर, जिल्ला प्रहरी कार्यालय गौर र विर दल गण पुरेनवा व्यारेकबाट गएको सुरक्षाकर्मीको टोलीले खोजतलास गरी उनीहरुलाई निकालेको थियो।
पौने १२ बजे बेपत्ता भएको तीनै जना बालिकालाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार इसीजी लगायत आवश्यक जाँचपछि चिकित्सकले १२:०९ बजे तीनै जना बालिकालाई मृत घोषणा गरेका थिए।