हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक, आज शव फिर्ता गरिने

असोज २७
धनगढी – मन नै चस्साउने समाचार आएको छ। करिब दुई वर्षअघि हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी अब यस संसारमा रहेनन्। हमासको सैन्य शाखाले आज औपचारिक रूपमा जोशीसहित चार जनाको मृत्यु पुष्टि गर्दै उनीहरूको शव आज फिर्ता गरिने घोषणा गरेको हो।

हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिन लागेका चार बन्धकका शवमा नेपाली विद्यार्थी विपिन जोशी सहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।

यसअघि आज बिहानै इजरायली अधिकारीहरूले पनि जोशी जीवित नरहेको जानकारी दिएका थिए। इजरायली प्रधानमन्त्री कार्यालय र सेनाले औपचारिक रूपमा जोशीको मृत्यु पुष्टि गर्दै त्यसको जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।

२०८० असोज २३ गते इजरायलको किबुत्ज आलुमिम बाट अपहरणमा परेका जोशीको जीवित अवस्थाको एउटा छोटो भिडियो केही दिनअघि मात्रै सार्वजनिक भएको थियो। त्यो भिडियोले लाखौं नेपालीका आँखा रसाएको थियो, तर आज आएर त्यो आशाको अन्तिम किरण पनि निभेको छ।

जोशी इजरायलमा कृषि अध्ययनका क्रममा थिए। आफ्नो परिवार, गाउँ र देशको नाम गर्वका साथ उच्च राख्न मेहनत गरिरहेका एक प्रतिभाशाली युवकका सपनाहरू यसरी अधुरा बन्न पुगेका छन्।

हमासले आज आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत इजरायललाई बुझाइसकेको छ। त्यसैबीच, चार जनाको शव फिर्ता गरिने घोषणासँगै फेरि एकपटक विश्व समुदाय भावविह्वल बनेको छ।

नेपालमा भने यो खबरले सारा देशलाई स्तब्ध बनाएको छ। जोशीका परिवार, साथीभाइ र उनलाई चिन्ने सबैजना शोकमा डुबेका छन्।

विपिन जोशी – एउटा नाम, जसले देशको सगरमाथाजस्तै गर्व र पीडाको प्रतीक बन्यो।
उनको अधुरो सपना, उनको मुस्कान र उनको समर्पण अब स्मृतिको पाना बनेर सदाका लागि अंकित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply