कार्तिक १
सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय कैलालीमा धान खरिद सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका विभिन्न ६ ठाउँबाट धान खरिद सुरु गरेको हो ।
धान खरिदका लागि मोहनपुर गौरीगंगा,टीकापुर,सत्ती,भजनी र जोशीपुरमा खरिद केन्द्र राखिएको कम्पनीले जनाएको छ । यसअघि सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य बाध्य भएका किसानलाई खाद्यले धान खरिद सुरु गरेसँगै ठूलो राहत हुने भएको छ ।
कार्यालय प्रमुख दीपक थापाका अनुसार सरकारले निर्धारण गरेको धानको न्युनतम समर्थन मूल्यमा खरिद किसानबाट धान खरिद गर्न लागिएको हो । जिल्लामा मोटा धान मात्रै खरिद गरिने उनले बताए ।
सरकारले यस वर्ष मोटा धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ निर्धारण गरेको छ । कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरिएको र पछि कोटा बढ्न सक्ने उनले बताए । उनका अनुसार एक किसानबाट बढीमा ५० क्विन्टलका धान खरिद गरिने छ ।
धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात,किसान प्रमाणित भएको वडाको सिफारिस,बैंक मार्फत रकम भुक्तानी गरिने भएकाले चेकको प्रतिलिपी ल्याउनु पर्ने उनले बताए । कम्पनीको मापदण्ड अनुसारको धान मात्रै खरिद गरिने उनले बताए ।
गत वर्ष कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकोमा ३४ हजार ५ सय क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।
