खेमराज भट्ट, काठमाडौं —
प्रहरी सेवामा अनुशासन, निष्ठा र इमानदारीका पर्यायका रूपमा चिनिने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी यसपटकको डीआईजी बढुवा सूचीबाट वञ्चित भएपछि सुदूरपश्चिमभरिको प्रहरी र नागरिक वृत्तमा गहिरो निराशा र आक्रोश फैलिएको छ।
अधिकारी बढुवाको सूचीमा पहिलो नम्बरमा रहेका थिए। तर सिफारिस समितिले नाम पठाउँदा उनी डीआईजी बढुवाको पाँचौँ स्थानसम्म पनि नपुगेका छन्। यस घटनाले फेरि एकपटक प्रश्न उठाएको छ — के सुदूरपश्चिमबाट आएका इमानदार, सक्षम र निष्पक्ष अधिकारीहरूलाई सदैव पछाडि पारिन्छ ?
सन् २०८२ भदौ २३ र २४ गतेको जेन–जि आन्दोलन काठमाडौंमा हिंस्रक रूप लिँदा प्रहरी प्रशासन ठूलो दबाबमा थियो।
त्यसबेला काठमाडौं प्रहरी परिसरका प्रमुखका रूपमा रहेर विश्व अधिकारीले राजधानीको सुरक्षा र नागरिक नियन्त्रणमा संयमित र संयोजित भूमिका खेलेका थिए।
त्यो घटनामा दुर्भाग्यवश केही मानवीय क्षति भयो — जसले देशभरका नागरिकहरूलाई पीडा दियो।
तर सो घटनालाई राजनीतिक र प्रशासनिक स्तरबाट ‘एक व्यक्तिको असफलता’ भनेर व्याख्या गर्नु आज धेरैको नजरमा नैतिक अन्याय ठहरिएको छ।
एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने,
त्यो बेला परिस्थिति नियन्त्रणभन्दा बाहिर थियो, तर अधिकारीले आफ्नो जिम्मेवारी ईमानदारीपूर्वक पूरा गरेका थिए। उनीमाथि प्रश्न उठाउनु, सुदूर र इमानदार सेवाप्रति प्रश्न उठाउनु हो।
यो बढुवा विवादले सुदूरपश्चिमका प्रहरी, बौद्धिक र नागरिक वृत्तलाई गहिरो सोचमा पारेको छ। सुदूरका जनप्रतिनिधिहरूले बारम्बार भनिरहेका छन् — “सरकारमा सुदूरको उपस्थिति छैन, अब प्रहरी नेतृत्वमा पनि सुदूरलाई किन ठाउँ दिइएन?
कञ्चनपुरका एक सामाजिक अभियन्ता भन्छन्,
अधिकारीजस्ता कर्मनिष्ठ र शान्त स्वभावका व्यक्तित्वलाई किन वञ्चित पारियो? सुदूरको क्षमतामा सधैं शंका गर्ने प्रवृत्ति परिवर्तन हुनुपर्छ।
सामाजिक सञ्जालमा पनि समर्थनको लहर देखिन्छ। यो केवल विश्व अधिकारीको मात्र विषय होइन, यो सुदूरको सम्मान र समान अवसरको प्रश्न हो,भन्ने टिप्पणीहरू बढिरहेका छन्।
प्रहरी संगठनभित्र बढुवा केवल वरिष्ठता वा अनुभवको आधारमा होइन, नीतिगत पारदर्शिता र निष्पक्ष मूल्यांकनमा आधारित हुनुपर्ने माग तीव्र भएको छ।अधिकारीजस्ता व्यक्तिहरूलाई पछाडि राख्नुले संगठनभित्र मनोबल कमजोर बनाउने जोखिम रहेको विशेषज्ञहरूको चेतावनी छ।
सुदूरका अधिकारीहरू देशका कठिन ठाउँमा काम गर्न अग्रसर हुन्छन्, तर जब जिम्मेवारीमा इमानदारी देखाउँछन्, तब पुरस्कृत होइन, वञ्चित पारिन्छन् — यो दुःखद विडम्बना हो।
जेन–जि आन्दोलनको घटनापछि जिम्मेवारीको सवाल आजसम्म अनुत्तरित छ।
न सरकारले स्पष्ट जवाफ दिएको छ, न प्रहरी संगठनले आत्मसमीक्षा गरेको छ।
तर सुदूरका जनताले सोध्न छोडेका छैनन् —
के इमानदार भएर पनि अन्याय सहनैपर्ने हो?
के सुदूरका सन्तानहरू सधैं ‘दूर’ नै रहनुपर्छ?
यो कथा केवल एक अधिकृतको बढुवाको होइन,यो सुदूरपश्चिमको पहिचान र न्याय खोज्ने यात्राको कथा हो।
