मंसिर ७
अहिले सेयर बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेका छन्।
अहिले लगानी गर्नेले छोटो अवधिमै कम्पनीहरूले दिने यस्तो लाभांश प्राप्त गर्ने अवसर पनि छ।
त्यसो भए के लाभांश दिन्छ भन्दैमा कम्पनीको सेयर किनिहाल्नु सही हो?
सधैं यो अवस्था नहुन सक्छ।
तपाईंले लगानी गरेको मूल्यका आधारमा कति लाभांश पाइरहनुभएको हो भनेर हेर्न सकिन्छ। कम्पनीको अहिलेको मूल्य वा आफूले हाल्न लागेको मूल्यका आधारमा घोषणा गरेको लाभांश कति प्रतिशत हो भनेर हेर्न सकिन्छ।
उदाहरणका लागि युनिलिभर नेपाललाई लिऊँ।
युनिलिभरले एक कित्ता सेयर बराबर एक हजार आठ सय ४२ रूपैयाँ नगद लाभांश दिँदैछ।
अंकित मूल्य एक सय रूपैयाँ भएको यो कम्पनीले अहिले दिन लागेको लाभांश पनि १८४२ प्रतिशत नै हो।
यति धेरै लाभांश निकै राम्रो हो।
अहिले बजारमा भने कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४६ हजार आठ सय ५० रूपैयाँ छ। अहिलेको मूल्यको आधारमा कम्पनीले दिन लागेको १८४२ रूपैयाँ भनेको ३.९३ प्रतिशत हो।
४६ हजार आठ सय ५० रूपैयाँ लगानी गरेर ३.९३ प्रतिशत लाभ लिने कि नलिने भन्ने निर्णय भने लगानीकर्ताको निर्णयमै भर पर्छ।
भोलिका दिनमा कम्पनीको सेयर मूल्य बढेमा भने यस्तो लाभ पनि बढ्दै जान्छ।
त्यसबाहेक सेयर बजारमा रहेका कम्पनीहरूमा तत्कालको नाफा मात्रै हेरेर लगानी गरिएको हुँदैन। कम्पनीको साख, कम्पनीको आम्दानीमा भइरहेको वृद्धि, कम्पनीको भविष्यका योजना र कतिपयले आफ्नो अवकास योजना अनुसार पनि लगानी रणनीति बनाइरहेका हुन्छन्।
त्यसैले यही एउटा आधारमा मात्र लगानी गर्न हुँदैन।
लगानीकर्ताहरूले अन्य कम्पनीहरूले घोषणा गरेको लाभांशलाई पनि अहिलेको सेयर मूल्यको आधारमा यसरी नै हेर्न सक्छन्। यस आधारमा धेरै प्रतिफल देखिने कम्पनी छान्न सकिन्छ।
कुनै कम्पनीले लाभांशमा बोनस सेयर समेत दिन लागेको अवस्थामा भने लगानीकर्ताले पाउने प्रतिफल केही फरक हुन्छ।
अर्को उदाहरणका लागि गरिमा विकास बैंकलाई लिऊँ।
यसले एक कित्ता बराबर १०.५३ प्रतिशत लाभांश दियो।
बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश दियो।
लगानीकर्ताले पाउने लाभांश भनेको १०.५३ प्रतिशत हो। अर्थात् एक सय रूपैयाँ अंकित मूल्य भएको बैंकले लगानीकर्तालाई प्रतिकित्ता १० रूपैयाँ ५३ पैसा दिएको हो।
यही साल कात्तिक १८ गते बुक क्लोज गरेकाले बैंकको सेयरमा कात्तिक १७ गतेसम्म सेयर स्वामित्वमा लगानी रहेकाले यो लाभांश पाएका हुन्।
कात्तिक १७ गते कम्पनीको सेयर मूल्य चार सय २२ रूपैयाँसम्म पुगेको थियो।
यो मूल्यको आधारमा लगानीकर्ताले कम्पनीबाट पाएको लाभांश २.४९ प्रतिशत हुन्छ।
बोनस सेयर दिएकाले समग्रमा यो सेयरमा लगानीकर्ताले पाएको प्रतिफल केही फरक हुन्छ। लगानीकर्ताले समग्रमा हात पार्ने प्रतिफल बढ्न पनि सक्छ, घट्न पनि।
मानौं, कात्तिक १७ गते कोही लगानीकर्ताले लाभांशको आशमा बजारबाट एक सय कित्ता सेयर किनेको थियो। सेयर मूल्य चार सय २२ रूपैयाँका आधारमा उसले ४२ हजार दुई सय रूपैयाँ लगानी गरेको छ।
लगानीकर्ताले अब बैंकले दिएको ६ प्रतिशत बोनस सेयर पाउँछ। अर्थात् अब सो लगानीकर्ताको कुल सेयर १०६ कित्ता हुनेछ।
बोनस सेयर दिएको कारण नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गर्छ। यस बैंकको पनि सेयर मूल्य समायोजन भइसकेको छ।
कात्तिक १७ गते बजार बन्द हुँदा बैंकको अन्तिम कारोबारमा सेयर मूल्य चार सय १७ रूपैयाँ थियो। यो मूल्यमा नेप्सेले बोनस लाभांशबापत ५.७५ प्रतिशत बराबर समायोजन गरिदियो र मूल्य तीन सय ९३ रूपैयाँमा आयो।
अहिले बैंकको सेयर मूल्य थप केही बढेको छ। बिहीबार बैंकको सेयर मूल्य तीन सय ७३ रूपैयाँ छ। अब लगानीकर्तासँग भएको एक सय ६ कित्ता सेयरको मूल्य ३९ हजार ६ सय ४४ रूपैयाँ पुगेको छ।
लगानीकर्ताले नगद लाभांश बापत करिब कुल चार सय ५३ रूपैयाँ समेत पाएको छ।
यस आधारमा सुरूमा ४२ हजार दुई सय रूपैयाँ लगानी गरेको सो लगानीकर्ताले अहिले सेयर बेचेको अवस्थामा उसलाई घाटा नै छ।
तर कम्पनीहरूले दिने लाभांशको आधारमा मात्रै लगानीकर्तालाई नाफा वा घाटा भने हुँदैन।
बजार बढ्दो प्रवृत्तिमा गइरहेको छ भने लाभांश समायोजनपछि पनि कम्पनीको मूल्य बढ्दै जान सक्छ र लाभ हुन सक्छ।
त्यसैले लगानी गर्ने समय बजार बढ्दो वा घट्दो कुन प्रवृत्तिमा गइरहेको छ, जान लागेको देखिन्छ, त्यसमा पनि ध्यान दिनुपर्छ।
अहिले लाभांश दिएका कम्पनीहरूको नयाँ आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण समेत आइसकेको हुन्छ। त्यो वित्तीय विवरणको आधारमा कम्पनीको यस वर्षको वित्तीय अवस्था सुदृढ हुँदै गएको छ कि छैन भन्ने पनि थाहा हुन्छ।
त्यसैले वित्तीय विवरणलाई समेत ध्यानमा राखेर लगानी गर्न सकिन्छ।
सामान्यतया नगद लाभांश दिएको अवस्थामा भन्दा बोनस सेयर दिँदा लगानीकर्ताहरू बढी खुसी हुने गरेका छन्। यसले लगानीकर्तासँग भएको सेयर कित्ता थपिने र भोलि मूल्य थप बढ्दा थप नाफा पाइने अवस्था हुने मानिन्छ।
तर कम्पनीहरूले बोनस मात्रै दिइरहेका छन् वा धेरै दिइरहेका छन् भने बुझ्नुपर्छ, कम्पनीको लाभांश क्षमता समेत घटिरहेको हुन्छ। किनभने कम्पनीहरूले जति कमाएर बाँड्छन्, त्यो थपिएको सेयरले समेत पाइरहेको हुन्छ।
बोनस सेयर दिँदा कम्पनी कमाएको रकम पैसाको रूपमा नदिएर सेयरको रूपमा दिएको हुन्छ। यस्तो सेयर बापतको रकमले कम्पनीको सेयर पुँजी पनि बढिरहेको हुन्छ। बढेको सेयर पुँजीसँगै आम्दानी उच्चले बढिरहेको छैन भने लाभांश दर घट्न सक्छ।
त्यस्तै, बढेको पुँजीबाट अन्य लगानी समेत गरिरहेको छ कि छैन भन्ने पनि हेर्नुपर्छ।
