मंसिर २७
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले उपाधिका लागि जित्न लुम्बिनीले ८६ रनको सामान्य लक्ष्य पाएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गर्यो। जसका कारण सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट हुन बाध्य भयो।
लगातार विकेट गुमाएको सुदूरपश्चिमविरूद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। रोहितको ह्याट्रिकसँगै सुदूरपश्चिम संकटमा परेको थियो।
रोहितले ११औं ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरेका थिए। यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमान्डु गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए।
रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके।
पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे।
रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो। यस्तै उसले १४ ओभर चल्दै गर्दा ५० रन पूरा गर्न सकेको थियो।
लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौं विकेट १५औं ओभरमा गुमायो। उसका हर्मित सिंह १० रन बनाएर आउट भए। १५औं ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गरेका उनी अर्को बलमा डार्शी शर्टबाट क्याच भए।
सुदूरपश्चिमका लागि सर्वाधिक रन प्रहार गरेका इशान पाण्डेले ३३ रन बनाउन सके। आज ओपनिङमा आएका पाण्डेले ५१ बल खेल्दा १ चौका मात्र प्रहार गर्न सके। १७औं ओभरसम्म टिकेका उनी यो ओभरको तेस्रो बलमा आउट भएका थिए। उनलाई लुम्बिनीका शेर मल्लले मोबिन सुभसिंहबाट क्याच गराएका थिए।
त्यसअघि सुदूरपश्चिम पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो। उनी ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्या हुँदा डकआउट भएर पेभिलियन फर्किए। तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लियो। उनले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई १ रनमै एलबिडब्लूको धरापमा पारे।
पावपरप्लेमा तेस्रो विकेट लिने क्रममा लुम्बिनीले आरिफ शेखको पनि विकेट लियो। आरिफलाई पाँचौ ओभरमा शेर मल्लले ६ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए।
अन्तिममा स्कट कुगेइलिन पनि १० रनमै आउट भए। १९औं ओभरमा तिलकाराज भण्डारीको बलमा सन्दीप जोराबाट समातिए। आउट हुनुअघि उनले १ छक्का प्रहार गरे। अन्तिम विकेटको रूपममा अभिनास बोहरालाई १ रन ट्रम्पलम्यानले अन्तिम ओभरको पहिलो बलमा डार्शी शर्टबाट क्याच गराएसँगै सुदूरपश्चिम ८५ रनमै अलआउट हुनु पुग्यो। हेमन्त धामी ७ रनमा नटआउट रहे।
बलिङमा लुम्बिनीका तीन बलरले ३-३ विकेट लिए। ट्रम्पलम्यान, रोहित र शेर मल्लको नाममा ३-३ विकेट रह्यो। ४-४ ओभरमा बलिङ गर्दा रोहितले १२ रन र शेरले १८ रन खर्चिए। ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र दिए। तिलकराज भण्डारीको नाममा १ विकेट रह्यो।
खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ। सुदूरपश्चिमले दुई परिवर्तन गरेको थियो। मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका थिए।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, विनोद भण्डारी, हेमन्त धामी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, पुनित मेहरा।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोबिन सुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।
गत सिजन अंक तालिकाको पुछारमा रहेको लुम्बिनी र उपविजेतामा सीमित बनेको सुदूरपश्चिम उपाधिका लागि भिड्दा एनपिएलले नयाँ च्याम्पियन पाउँदैछ।
यससँगै एक खेलाडीले दोस्रो पटक एनपिएलको उपाधि उचाल्ने इतिहास बनाउनेछन्। गत सिजन जनकपुर बोल्ट्सले उपाधि जित्दा सो टोलीमा रहेका दुई खेलाडी आज एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन्।
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए। यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए।
त्यसैले हेमन्त वा शेर मध्ये एक खेलाडीले लगातार दोस्रो पटक उपाधि जित्ने पक्का छ।
सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।
यस्तै लुम्बिनी भने प्लेअफमा स्थान पक्का गर्ने क्रममा अंक तालिकाको चौथो स्थानमा थियो। पहिलो खेल जिते पनि लुम्बिनीले त्यसपछि लगातार तीन खेल गुमायो। तर लिगका पछिल्ला तीन खेल जितेर लुम्बिनी अंक तालिकामा चौथो बन्यो।
त्यसपछि एलिमिनेटरमा लुम्बिनीले काठमान्डु गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो।
