एनपीएल उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम फेरि उपविजेता

मंसिर २७, २०८२ कीर्तिपुर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले नयाँ च्याम्पियन पाएको छ । लुम्बिनी लायन्सले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।

लगातार दोस्रो पटक फाइनल खेलेको सुदूरपश्चिम रोयल्सका लागि उपाधि सपना अधुरै रह्यो । यसअघि पहिलो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमको कमजोर ब्याटिङ, इतिहासकै न्यून स्कोर-टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको निर्णय उल्टो सावित भयो । लुम्बिनीका बलरको धारिलो आक्रमणसामु सुदूरपश्चिम १९.१ ओभरमै अलआउट हुँदै केवल ८५ रनमै सीमित रह्यो । यो स्कोर दोस्रो संस्करणको एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको सबैभन्दा कम स्कोर बन्यो ।

टोलीको सुरुवातदेखि नै विकेट झर्ने क्रम रोकिएन । ५० रन नपुग्दै छ विकेट गुमाउँदा सुदूरपश्चिम पूर्ण रूपमा दबाबमा पर्‍यो । ओपनर इशान पाण्डेले ५१ बलमा ३३ रन बनाउँदै केही प्रतिरोध गरे पनि उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

विनोद भण्डारी शून्यमै आउट भए भने सिल्डन ज्याक्सन, आरिफ शेख, दीपक बोहरा र पुनित मेहराको ब्याट पूर्णतः मौन रह्यो ।

रोहित पौडेलको ह्याट्रिकले खेल मोडियो-सुदूरपश्चिमको इनिङ्समा निर्णायक क्षण ११औँ ओभरमा आयो । लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई आउट गर्दै रोहितले सुदूरपश्चिमको बाँकी आशा समाप्त गरिदिए ।

अन्त्यतिर हरमित सिंह र स्कट कुग्गेलियनले छिटपुट रन जोडे पनि टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन सकेनन् ।

लुम्बिनीको तीव्र लक्ष्य पछ्याइ, कीर्तिमानी जित-८६ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको लुम्बिनी लायन्सले आक्रामक सुरुवात गर्‍यो । ओपनर दिनेश अधिकारीले केवल १३ बलमै पाँच छक्का र एक चौका प्रहार गर्दै ४२ रन बनाए । उनको विस्फोटक ब्याटिङले खेल नौ ओभरभित्रै समाप्त भयो ।

लुम्बिनीले चार विकेट गुमाउँदै मात्र नौ ओभरमा लक्ष्य पूरा गर्‍यो । यो दोस्रो सिजनको एनपीएलमा सबैभन्दा छिटो लक्ष्य पूरा गरिएको कीर्तिमान पनि बन्यो । कप्तान रोहित पौडेल, डी’आर्ची सर्ट र निरोसन डिक्वेलाले सहज योगदान दिए ।

बलरको सामूहिक प्रदर्शन नै लुम्बिनीको शक्ति-लुम्बिनीको जितमा बलरको भूमिका निर्णायक रह्यो । रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिँदै केवल १२ रन खर्चिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान तीन–तीन विकेट लिए । ट्रम्पलम्यानले २.१ ओभरमा मात्र तीन रन खर्चिनु फाइनलकै उत्कृष्ट बलिङमध्ये एक बन्यो ।

नयाँ च्याम्पियन, पुरानै पीडा-
यो जितसँगै लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको उपाधि उचाल्दा सुदूरपश्चिम रोयल्स भने फेरि एकपटक उपविजेतामै सीमित रह्यो । उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा चुक्नु सुदूरपश्चिमका लागि निराशाजनक रह्यो ।

एनपीएल दोस्रो संस्करणले नेपाली क्रिकेटमा प्रतिस्पर्धा, नयाँ कीर्तिमान र उदीयमान खेलाडीहरूको क्षमताको झलक देखाउँदै उत्साहजनक समापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply