रिलिशा राजवंशी
बर्दिया — बर्दिया जिल्लाको मधुवन नगरपालिका अन्तर्गत खाटा कोरिडोर क्षेत्रमा चितुवाको आक्रमणबाट एक १७ वर्षीया छात्राको मृत्यु भएको छ। कक्षा १२ मा अध्ययनरत विनिता परियारलाई शुक्रबार बिहान ट्युसन पढ्न जाने क्रममा चितुवाले आक्रमण गरेको हो।
आक्रमणमा गम्भीर घाइते भएकी परियारलाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको स्थानीयले जनाएका छन्। घटनाले पीडित परिवार मात्र होइन, सम्पूर्ण स्थानीय समुदाय शोक र त्रासमा परेको छ।
एक महिनामा तीन जनाको मृत्यु, प्रशासनप्रति आक्रोश-स्थानीय बासिन्दाका अनुसार पछिल्लो एक महिनाभित्र बर्दिया जिल्लामा चितुवाको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन्। बारम्बार यस्ता घटना दोहोरिँदा पनि स्थानीय प्रशासन, डिभिजन वन कार्यालय तथा निकुञ्ज प्रशासनले प्रभावकारी कदम नचालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। घटना भएपछि छानबिनको नाममा औपचारिकता पूरा गर्ने तर दीर्घकालीन सुरक्षा उपाय नअपनाउने प्रवृत्ति अब असह्य भइसकेको छ,” एक स्थानीयले बताए।
बस्तीमै वन्यजन्तु, जनजीवन असुरक्षित- जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने खाटा कोरिडोर क्षेत्रमा पछिल्लो समय बस्तीमै चितुवा लगायत जंगली जनावरको आवतजावत बढ्दै गएको छ। बिहान–साँझ विद्यालय, ट्युसन, खेतबारी तथा दाउरा–घाँस गर्न जाने नागरिकहरू सधैं ज्यान जोखिममा राख्न बाध्य छन्। विशेषगरी बालबालिका र महिलाहरू बढी जोखिममा रहेको स्थानीयको भनाइ छ। “अब छोरीलाई पढ्न पठाउँदा पनि डर लाग्ने अवस्था आएको छ,” एक अभिभावकले पीडा व्यक्त गरे।
स्थानीयको चेतावनी : ‘अब चुप लाग्दैनौँ’- लगातारको बेवास्तापछि स्थानीयवासीले चितुवा नियन्त्रणमा लिन तत्काल कदम चाल्न माग गर्दै कडा चेतावनी दिएका छन्।
“या त वैज्ञानिक र सुरक्षित तरिकाले चितुवाको नियन्त्रण गरियोस्, नत्र आत्मरक्षाका लागि हामी आफैं कडा कदम चाल्न बाध्य हुनेछौं,” स्थानीयको भनाइ छ। यस अवस्थाले आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व थप जटिल बन्न सक्ने संकेत देखिएको छ।
दीर्घकालीन समाधान अपरिहार्य- वन्यजन्तु आक्रमणका घटना न्यूनीकरणका लागि तत्काल सुरक्षा गस्ती, जोखिमयुक्त क्षेत्रमा चेतावनी प्रणाली, समस्या सिर्जना गर्ने चितुवाको पहिचान तथा व्यवस्थापन, स्थानीयसँग समन्वय र दीर्घकालीन नीति निर्माण आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।
विनिता परियारको मृत्यु केवल एउटा परिवारको पीडा मात्र नभई मानव–वन्यजन्तु व्यवस्थापनमा राज्यको गम्भीर कमजोरीको प्रतीक बनेको छ। समयमै प्रभावकारी र दिगो कदम नचालिए यस्ता घटनाहरू दोहोरिरहने जोखिम कायमै रहने स्पष्ट देखिन्छ।
