प्रतिनिधिसभा निर्वाचनतर्फ देश प्रवेश, आज उम्मेदवारी दर्ताको उत्साह

हेमा भट्ट
धनगढी, माघ ६ (२०८२)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गराउने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि उम्मेदवारलाई नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि अनिवार्य गरिएको छ।

निर्वाचन प्रक्रिया मर्यादित र शान्तिपूर्ण बनाउने उद्देश्यले आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि किसिमको तडकभडक, र्‍याली वा अवाञ्छित गतिविधि नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्ट निर्देशन दिएको छ। भीडभाड नियन्त्रण र व्यवस्थापन सहज बनाउन आयोगले प्रमुख दल र उम्मेदवारका लागि दर्ता गर्ने समयसमेत निर्धारण गरिसकेको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था रहेको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पश्चात् निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन गरिसकेको जनाएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया पनि अघि बढिसकेको छ।

राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट सम्पन्न गरिसकेको जनाएको छ भने नेपाली कांग्रेस केही क्षेत्रमा अझै उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको छ। एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।

निर्वाचन आयोगले आवश्यक सबै तयारी पूरा भएको बताउँदै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि मुलुक नयाँ निर्वाचनको प्रक्रियामा प्रवेश गरेको हो।

देश लोकतान्त्रिक अभ्यासको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्दै गर्दा आजको उम्मेदवारी दर्तालाई राजनीतिक स्थिरता र जनप्रतिनिधि चयनको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply