माघ १०
आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणमा नेपालले पहिलो जित दर्ता गराएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले समूह ‘बी’ मा जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावेले ६ विकेटको क्षतिमा १२९ रन जोड्न सक्यो।
जिम्बावेका लागि केलिस न्ध्लोभुले नटआउट ५२ रन जोडिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।
बलिङमा नेपालकी रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।
१३० रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छदा पूरा गर्यो।
नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरिन्। विन्दू रावलले १५ रन र इन्दू बर्माले २२ रन बनाए।
सीता रानामगर ११ रनमा रिटार्यड हर्ट भएकी थिइन्।
आजको जितसँगै नेपालले सुपर-६ को सम्भावना जीवित राखेको छ। अब नेपालले अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ।
सो खेलमा फराकिलो अन्तरको जित निकाल्न सके नेपाल समूहमा शीर्ष तीन परेर सुपर-६ ममा पुग्न सक्नेछ।
यसअघि नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो।
अब नेपाल र स्कटल्यान्डबीच सोमबार विहान खेल हुनेछ।
