माघ १५, कैलाली
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुकमा भयरहित, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउनु सरकारको पहिलो र प्रमुख दायित्व भएको स्पष्ट पार्नुभएको छ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीमा कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफलका क्रममा मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि देशमा उठेका राजनीतिक, सामाजिक तथा संरचनागत सवालहरूलाई नयाँ जनादेशमार्फत सम्बोधन गर्न निर्वाचन अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार लोकतन्त्रलाई मजबुत बनाउने एकमात्र बाटो नागरिकको मताधिकारलाई सम्मान गर्नु हो, र त्यसका लागि समयमै निर्वाचन हुनैपर्छ।
मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा पनि निर्वाचन हुने–नहुने भन्ने अनावश्यक अन्योल सिर्जना गरिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्तो परिस्थितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा प्रमुख राजनीतिक दलहरूबीच संवाद अघि बढेको र राष्ट्रपति समक्ष बसेको सर्वदलीय बैठकबाट निर्वाचनको मिति सुनिश्चित भएको तथ्य स्मरण गराउनुभयो।
सरकारबाट निर्वाचनको मिति आधिकारिक रूपमा घोषणा भइसकेपछि पनि केही समूह तथा व्यक्तिहरूले दलहरू र विशेषगरी युवा वर्गसँग पर्याप्त छलफल नभएको बहाना बनाएर निर्वाचन नहुने भ्रम फैलाउने प्रयास गरेको मुख्यमन्त्री शाहको भनाइ थियो। यस्ता भ्रम र गलत प्रचारका बाबजुद सरकार निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो।
प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो संवैधानिक र नैतिक दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निष्पक्ष चुनाव गराइने प्रतिबद्धता दोहोर्याउनुभयो।
अन्त्यमा उहाँले “एकता नै बल हो” भन्ने मान्यतालाई आत्मसाथ गर्न सबैलाई आग्रह गर्दै, आपसी एकता, समझदारी र सहकार्यबाट मात्रै नयाँ सम्भावना, स्थायित्व र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
