फागुन १३
अखिल नेपाल फुटबल संघ (एन्फा) सहित नौ जनाविरूद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटमा थ्रीस्टार क्लबको पक्षमा फैसला आएको छ।
थ्रीस्टारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत असार बी डिभिजन घटुवा गर्ने निर्णय गरेको थियो। लिग सकिएको दुई वर्षपछि रेलिगेसनमा परेको थ्रीस्टारले त्यसपछि असार १८ गते उच्च अदालत पाटनमा राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल संघ, पंकज विक्रम नेम्बाङ्ग, किरण राई , दामोदर भट्टराई, अखिल नेपाल फुटबल संघ अनुशासन समिति, अखिल नेपाल फुटबल संघ पुनरावेदन समिति र एपिएफ फुटबल क्लबविरूद्ध मुद्दा दायर गरेको थियो।
यो मुद्दामा बुधबार फैसला आएको छ। न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटी संयुक्त इजलासले थ्रीस्टारको पक्षमा फैसला गरेको हो। थ्रीस्टारले ए डिभिजनको हक खोसिएको भन्दै रिट दायर गरेको र त्यसमा आफ्नो पक्षमा फैसला आएको पूर्वअध्यक्ष अरुणमान जोशीले सेतोपाटीलाई बताए।
यस मुद्दाको पूर्णपाठ आउन भने बाँकी छ।
यसअघि गत असारमा एन्फाको अपिल कमिटीले २०८० मा सकिएको सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टार क्लबले हात पारेको नतिजा उल्टाउने निर्णय गरेको थियो।
सो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १-० गोलले हराएको थियो। सो जितसँगै थ्रीस्टार रेलिगेसनबाट बचेको थियो। थ्रीस्टार रेलिगेसनबाट बच्दा सशस्त्र प्रहरी बलको एपिएफ क्लब भने रेलिगेसनमा परेको थियो।
त्यसपछि एपिएफले एन्फामा उजुरी गर्दै थ्रीस्टारले भिसा सकिएका विदेशी खेलाडी खेलाएको दाबी गरेको थियो। एपिएफले दुई विदेशी खेलाडी पिटर र मार्टिन्सको भिसा सकिए पनि खेलाएको दाबी गरेको थियो।
छानविनका क्रममा उनीहरुको भिसाको म्याद सकिएको पाइएको थियो। यद्यपी एन्फाले थ्रीस्टारलाई जरिवाना मात्र गरेको थियो। त्यसपछि फेरि अपिल गरिदा एपिएफको पक्षमा अपिल कमिटीले निर्णय गरेको थियो।
यससँगै पूर्व च्याम्पियन थ्रीस्टार बी डिभिजनमा झरेको थियो। नजिता उल्टाएर जावलाखेललाई जित दिइएको थियो। यसले १३औं स्थानमा झरेको थ्रीस्टारको २९ अंक हुँदा १२औं स्थानमा उक्लने एपिएफको ३० अंक हुन्छ। पुछारको खुलमटारको २७ अंक थियो।
